प्रचण्डले आफैं भने अब प्रचण्डपथको काम छैन, ब्युँतिदैन

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब प्रचण्डपथ नब्युँतिने बताएका छन्। शनिबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले प्रचण्डपथ ल्याउँदा, स्थगन गर्दा र अहिलेको परिस्थितिमा परिवर्तन आएको बताए।

‘जनयुद्धमा हामी हुँदै गर्दा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनमा प्रचण्डपथको विषयमा छलफल भएर निर्णय भएको हो। अहिले पार्टी र आन्दोलनको पनि समीक्षा गर्ने क्रममा यो विषय उठेको छ,’ उनले भने, ‘शान्ति सम्झौतामा आइसकेपछि कम्युनिस्टहरुको बृहत्तर एकताको आवश्यकता महसुस गरेपछि यस (प्रचण्डपथ) लाई स्थगन गरियो।’

उनले प्राविधिक र सांगठनिक खालको बहस र छलफल नपुर्‍याइकन प्रचण्डपथलाई स्थगन गरिएको बताए। ‘त्यसले गर्दा राम्रो भएन भन्ने सम्ममा हामी छौं। तर, फेरि प्रचण्डपथ ल्याउनुपर्छ भन्ने हाम्रो विल्कुल होइन। किनभने, त्यो हिजो एउटा परिस्थितिको र चरणको कुरा थियो। अब हामी नितान्त भिन्न परिस्थितिमा, भिन्न चरणमा छौं,’ उनले भने।

उनले आफूहरुलाई नयाँ संश्लेषण, नयाँ विचार, नयाँ परिवर्तनको खाँचो रहेको बताए। ‘त्यसो गर्दा हिजोको समीक्षा ठीक ढंगले गर्न पनि आवश्यक छ,’ उनले भने, ‘प्रचण्डपथ जुन तरिकाद्वारा छोडियो। त्योभन्दा भिन्न तरिकाले बहस छलफल गरेर अब हामी अगाडि यसरी जाने हो भन्ने कुराको पनि चित्र बनाएर गरेको भए बढी राम्रो हुन्थ्यो भन्नेसम्ममा चाहिँ हामी छौं।’