महामन्त्रीको कार्यभार सम्हाल्दै गगनले भने- उत्साह र डर दुवै छ

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ जिम्मेवारीबाट आफूलाई उत्साह र डर दुवै रहेको बताएका छन्। १४ औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित थापाले जिम्मेवारी फेरिएकोले उत्साह र डर दुवै रहेको बताएका हुन्।

‘केन्द्रीय समितिमा मेरो यो तेस्रो कार्यकाल हो,’ पहिलो केन्द्रीय समितिको बैठकपछि थापाले भने, ‘अहिले जिम्मेवारी फेरिएको छ। गह्रुंगो जिम्मेवारी पूरा गर्न उत्साह र डर दुवै लागिरहेको छ।’

महामन्त्रीको जिम्मेवारीपूर्ण हैसियतमा पार्टीलाई एक ढिक्का बनाएर विधानपूर्वक सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने उनले बताए।

‘हामी दुईजना महामन्त्री छौं। पार्टीलाई विधानपूर्वक सञ्चालन गराउने मुख्य अभिभारा हाम्रो हो,’ थापाले भने, ‘यसका लागि कुनै कसर बाँकी राख्दैनौं।’ शनिबारदेखि औपचारिक रूपमा काम सुरू भएको भन्दै देशभर कांग्रेसलाई मजबुत बनाउन गहनताका साथ छलफल अगाडि बढाइने उनले बताए।

‘आजबाट औपचारिक रूपमा काम सुरू भएको छ। केन्द्रीय समितिको पहिलो बैठक पनि सकिएको छ,’ उनले भने, ‘आजैबाट हामी पदाधिकारीहरू छलफलमा जुटिरहेका छौं। देशभर देखिएको उत्साहलाई थप ऊर्जा दिन र तल्लो समितिलाई जिम्मेवारी दिने विषयमा कुराकानी सुरू गरिरहेका छौं।’

महामन्त्री थापाले कांग्रेस एकजुट भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।