केन्द्रीय समिति बैठकमा नगएका शेखरले देवघाट पुगेर देउवालाई फर्काए यस्तो जवाफ

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

कांग्रेस नेता शेखर कोइरालाले पार्टीको आन्तरिक निर्वाचनमा पराजय बेहोरे पनि आफ्नो एजेन्डाको जित भएको बताएका छन् । ‘हार जित ठूलो कुरा होइन, मैले पुस्तान्तरण र रुपान्तरणको कुरा गरेको थिएँ, नेपालको राजनीतिमा त त्यो जरुरी नै थियो भन्ने महसुस गरेर हामी अगाडि बढेका थियौँ, कहिलेकाँहीं हारे पनि जितिँदोरहेछ, मैले हारेर पनि जितेको छु, आज मैले उठाएको एजेन्डाले जितेको छ, त्यसमा मलाई गर्व छ,’ कोइरालाले भने ।

चितवनको देवघाटमा शनिबार भएको कोइराला सेवा समाजको २६ औँ वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले यो निर्वाचनमा भएको हारबाट आफूले धेरै कुरा सिकेको बताए । उनले परिवार विभाजित हुँदा त्यसको फल नराम्रो हुन्छ भन्ने कुरा पुष्टि भएको बताए ।

‘निर्वाचनमा हार जित हुन्छ, हारबाट मानिसले सिक्नुपर्छ । मैले पनि हारबाट धेरै कुरा सिकेँ, एउटा कुरा त मैले के सिकेँ भने परिवारका अग्रजहरूले परिवार एक ठाउँमा उभिन्छन् भने त्यो परिवारले राष्ट्रका निमित्त केही न केही गर्न सक्छन् भन्ने उहाँहरूको भनाइ थियो, त्यो सत्य जस्तै लाग्यो,’ कोइरालाले अघि भने, ‘युनाइटेड बी स्ट्याण्ड, डिभाइडेड बी फल’ भन्ने सुनेको हुँ, त्यो सत्य रहेछ ।’

नेता कोइरालाले अब समाजलाई परिवर्तन गर्न नसक्ने हो भने राजनीति नगरे पनि हुने बताए ।