सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पाले च्यासल युथ क्लबमाथि निकाल्यो जित

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन जोनमा रहेको च्यासल युथ क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न दिनको पहिलो खेलमा शेर्पाले च्यासलमाथि ३-१ को सहज जित निकालेको हो।

शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोलीले दुई तथा सुरेश कुमालले एक गोल गरे। च्यासलका रुमेश बर्तौलाले एक गोल फर्काए। पहिलो हाफ आक्रामक खेले पनि शेर्पाले राम्रो मुभ बनाउन सकेन। यद्यपि, पाएको एक मौकालाई सदुपयोग गर्दै अग्रता लिएको थियो।

२५औं मिनेटमा मुताम्वाले गोल गर्दै शेर्पालाई १-० को अग्रता दिलाए। क्रसमा आएको बललाई अभिषेक लिम्बूले क्लियर गर्न नसकेको बललाई मुताम्वाले नियन्त्रणमा लिँदै गोलरक्षक अर्पण कार्कीलाई बिट गरेर गोल गरे। ३५औं मिनेटमा शेर्पाका कर्ण लिम्बूले अवसर पाए पनि उनले फ्रेममा बल प्रहार गर्न सकेनन्।

४०औं मिनेटमा चेतन थारुको प्रहारलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाउँदा च्यासल बराबरीबाट चुक्यो।

दोस्रो हाफमा पनि शेर्पाले च्यासल दबाब दियो। रक्षात्मक देखिएको च्यासलको पोस्टमा शेर्पाले दुई गोल गर्‍यो भने एक गोल कमजोर डिफेन्स खेल्दा खायो। ५६औं मिनेटमा मुताम्वाले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे। सब्स्टिच्युट मिडफिल्डर मनिष थापाको क्रसलाई मुताम्वाले चेस्ट गर्दै दिएको पासमा त्रिदेव गुरुङको भली प्रहार गरेका थिए।

उक्त बललाई गोलरक्षक अर्पणले नियन्त्रणमा लिन नसकेपछि मुताम्वाले जाली चुमाए। ७५औं मिनेटमा रुमेश बर्तौलाले गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए। राजीव लोप्चनको पासमा अनमार्क रहेका रुमेशले भलीमार्फत् गोल गरे।

८०औं मिनेटमा सुरेश कुमालले मनिष थापाको पासलाई सदुपयोग गर्दै खेल ३-१ मा पुर्‍याए। त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा सहजै विजयी भयो।

शेर्पाको यो लगातार दोस्रो जित हो। जितपछि शेर्पा ६ खेलबाट ८ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ। समान ८ अंक भए पनि शेर्पा सातदोबाटोसँग गोलअन्तरमा पछि छ।

यसअघि शेर्पाले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई ३-१ ले पराजित गर्दा संकटा र पुलिससँग १-१ गोलको बराबरी खेलेको थियो।

यस्तै, मनाङसँग १-० र मछिन्द्रसँग ३-० को हार बेहोरेको थियो। च्यासलको यो चौथो हार हो। पराजित च्यासल ६ खेलबाट ४ अंक जोडेर १३औं स्थानमा यथावत रहेको छ।

थ्रीस्टार, त्रिभुवन आर्मी र जावलाखेलसँग च्यासल पराजित भएको थियो। एपीएफलाई १-० ले पराजित गर्दा न्यूरोड टिम (एनआरटी)सँग १–१ गोलको बराबरी खेलेको थियो।