ओलीलाई फकाउन हाल बाँधेर प्रचण्ड र देउवा बालकोट जाने, ओलीले देलान् भाउ ?

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठकमा एमालेको अनुपस्थितिलाई दुर्भाग्य भएको बताएका छन्। शनिबार सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो शैली आफूहरुलाई अति लागेको बताएका हुन्।

‘तपाईंहरुले देख्नुभयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो। तर दुर्भाग्य! प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न,’ उनले भने, ‘पटक-पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने। मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न। त्यस्तै हुनुहुन्छ। हाम्रो के लाग्यो ? तपाईं र म नै बालकोट जाऔँ। यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ। देशका अरु विषय पनि हल गरौं भनेको छु।’

आफ्नो प्रस्तावमा प्रधानमन्त्रीले महाधिवेशनपछि जाने भनेको प्रचण्डको भनाइ छ। ‘महाधिवेशन सकिएको छ। हाम्रो पनि सकिन्छ। जरुरी पर्‍यो भने हामी नै जान्छौं। जसलाई देशप्रति व्यवस्थाप्रति लोकतन्त्रप्रति गम्भीर छ। उसले जिम्मा लिनुपर्‍यो । हामी त्यतिसम्म पनि सोचिरहेका छौं,’ उनले भने।

उनले नेपालको आर्थिक समृद्धिका निम्ति, पूर्वधार विकासको निम्ति मित्र देशहरुले दिएको सहयोग लिइराखेको र अहिले पनि लिने उनको भनाइ छ। ‘तर एमसीसीको विषयमा जे प्रश्न उठ्यो, त्यो पनि ओरिजिनल सहमति र पछि ओली प्रधानमन्त्री भएर युवराजजी अर्थमन्त्री भएको बेलामा जे सम्झौता गरिएको छ। त्यसले शंका उत्पन्न गराइदिएको छ। गहिरो अध्ययन गर्दा ओरिजिनल सहमतिमै पनि केही कुरा अस्पष्ट रहेछन् भन्ने भएको छ,’ उनले भने।