एमालेको जस्तो, कांग्रेस र राप्रपाको जस्तो मात्र हुँदैन हाम्रो राष्ट्रिय सम्मेलन भन्दै कुर्लिए प्रचण्ड

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरूले राष्ट्रिय सम्मेलन गर्न लागेको भए पनि महाधिवेशनका लागि आवश्यक पर्ने सबै काम गरेको बताए ।

शनिबार सम्पादकहरूसँगको छलफलमा प्रचण्डले भने, ‘महाधिवेशनका लागि आवश्यक पर्ने सबै काम गर्‍यौँ, तर सम्मेलन भनेका छौँ ।’ उनले महाधिवेशनमा जस्तै नेतृत्व छान्ने प्रक्रिया पनि माओवादीले पूरा गरेको दाबी गरे ।

एमाले, कांग्रेस र राप्रपाको महाधिवेशनमा उद्घाटन भाषण र चुनाव भएको उल्लेख गर्दै माओवादीको राष्ट्रिय सम्मेलन त्यतिमा मात्र सीमित नहुने बताए ।

‘हाम्रोमा चितवनमा एमालेको जस्तो, कांग्रेस र राप्रपाको जस्तो उद्घाटन भाषण र चुनाब मात्रै हुँदैन,’ प्रचण्डले भने, ‘हामी मुद्दामा बोल्छौँ ।’

आफूहरूको ध्यान अहिलेको विश्व परिस्थिति, विश्वको आर्थिक स्थिति, भूमण्डलीकरण, वित्तीय पुँजीवादमा गएको बताए । उनले विश्वमा विज्ञान प्रविधि, डिजिटलाइजेसनले रास्ट्रहरूबीचको सम्बन्धमा प्रभाव परेको पनि बताए ।