प्रचण्डले झूट बोल्छन् मेरो कुनै झूट बोल्ने बानी छैन भन्दै ओलीले प्रचण्ड र ज्ञानेन्द्रको निकाले कुण्डली

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भएको सहमति प्रचण्डले ढाकछोप गरिरहेको बताएका छन्।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अध्यक्ष ओलीले २०६० साल पुसमा भएको सहमतिअनुसार नै तत्कालीन राजा देशभर अभिनन्दनमा निस्किएको दाबी गरे।

प्रचण्ड र पूर्वराजाबीच पुस १८ गते राति सहमति भएपछि ज्ञानेन्द्र शाह अभिनन्दन कार्यक्रममा निस्किएको ओलीले दावी गरेका हुन्। सहमति भएको पत्र सार्वजनिक गर्न सकिन्छ भनेर राखेको पत्रकारको प्रश्नमा अध्यक्ष ओलीले भने, ‘मेरो काम पोलिटिकल हो। मैले कागज खोजेको होइन। पोलिटिक्स खोजेको हो। प्रचण्डले त ढाकछोप, झूट गरिहाल्नु हुन्छ। मेरो कुनै झूट बोल्ने बानी छैन।’

प्रचण्डले सहमति भएको पुष्टि गर्न चुनौती दिएको विषयमा उनले थपे, ‘यसबारे प्रचण्डले ढाकछोप गरिहाल्नुहुन्छ नि’ झूट बोल्नुहुन्छ। गर्ने मान्छे म हुँ भन्दै सार्वजनिक भइरहेका छन्। अझै पनि पुष्टि भएन भने कसको के लाग्छ? त्यसको खण्डन गर्नुपर्छ नि उहाँले।’

प्रचण्डले वार्ताका लागि त्यसबेला खटाएका वार्ताकार, मस्यौदाकारकै भनाइ सार्वजनिक भइसकेको ओलीको भनाइ छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्यमाथि ग्रहण लागिरहेको अभिव्यक्ति दिइरहेकोबारे उनले भने, ‘हो, एमालेमाथि उहाँहरुले एकछिनका लागि ग्रहण लगाउनुभएको हो। एमालेलाई सरकारबाट हटाउन सकेकोमा उहाँहरु एकछिनका लागि खुसी हुनु भएको छ। दक्षिणपन्थी प्रतिगामी सरकार बनाउन पाएकोमा खुसी हुनु भएको छ। त्यो स्पस्ट नै छ नि!’

बाहिरी शक्तिले एमाले र माओवादीलाई मिलाउने प्रयास गरिरहेको भन्ने खबरतर्फ संकेत गर्दै ओलीले भने, ‘खै अब त्यो कुन जिमखानामा कसरत गर्दैछ मलाई थाहा भएन। मसँग यस्तो कुरा आएको छैन।’

एमसीसीबारे अहिले आफूहरुले केही बोल्न नपरेको उनले बताए। उनका अनुसार एमसीसी सरकारले सम्झौता गरेको हो। यसबारे सरकारको नीति के कस्तो भन्ने कुरा आइसकेको छैन। ‘संयुक्त गठबन्धनको केही नीति होला नि त, त्यो पनि आएको छैन’, पूर्वप्रधानमन्त्री ओलीले भने।

अब मुलुक निर्वाचनमा होमिएको हो भन्ने प्रश्नमा उनले भने, ‘अर्ली चुनाव होला, चुनाव धेरै ठूलो कुरा होइन। जहिले भए पनि चुनाव हुन्छ। चुनावमा धोबीपाठ लगाइन्छ।’

संसदमा एमालेको अवरोधसम्बन्धी पत्रकारहरुको सवालको जवाफमा ओलीले भने, ‘संसद अवरुद्ध भएको छैन। हामीले विरोध गरे पनि संसद चलिरहेको छ। बलजफ्ती गर्ने बानी परेकाले बलजफती गरिरहेका छन्। चुनाव हुनुपर्छ।’

सत्ता गठबन्धनको आयु कहिलेसम्म होला भन्ने प्रश्नमा उनले ‘नभत्किएसम्म’ जवाफ दिएर हास्य वातावरण बनाएका थिए।