काठमाडौं उपत्यका वरिपरीका यी हुन् पिकनिक स्पट, कहाँ जाँदा कति तिर्नुपर्छ ?

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

हिउँद लागेसँगै काठमाडौं उपत्यका वरीपरी लगायत विभिन्न भेगमा पिकनिक (वनभोज) जानेक्रम सुरू भएको छ । सरकारी तथा निजी संघसंस्था, स्कुल, कलेज, पारिवारिक समूह लगायत पिकनिक जान थालेका हुन् ।

लामो समय फुर्सद हुनेहरु काठमाडौं उपत्यका बाहिरका पर्यटकीय स्थलमा पिकनिक जाने गरेका छन् भने फुर्सद नहुनेहरु बिदाका दिन काठमाडौं उपत्यका वरिपरीकै स्थानमा जाने गरेका छन् ।

पिकनिक सिजन सुरू भएसँगै बिदाका दिनमा उपत्यका आसपासका पिकनिक स्पट भरीभराउ हुन थालेका छन् । विदाको दिन पारेर रमाइलो गर्न जानेहरु पिकनिक स्पटमा जाने गर्छन ।

विगतमा दिनमा कतिपय पिकनिक स्पटमा पानी, बत्ति, शौचालय लगायत पूर्वाधारको व्यवस्था नहुँदा समस्या हुन्थ्यो, तर पछिल्लो समय भने उपत्यका वरीपरीका प्रायः सबै पिकनिक स्पटहरुले यी सुविधाकोे व्यवस्था गरेको पाइन्छ ।

यहाँ हामीले काठमाडौंउपत्यका वरिपरी रहेका पिकनिक स्पट, त्याहाँ पाइने सुविधा, लाग्ने शुल्क बारे जानकारी दिने प्रयास गरेका छौं ।

यी हुन उपत्यकामा रहेको मुख्य पिकनिक स्पटहरु

धुलिखेल (देवीस्थान) : काभ्रेपवलाञ्चोकको धुलिखेलमा रहेको यो पिकनिक स्पट कोटेश्वरबाट २५ किलोमिटर दूरीमा रहेको छ । यो पिकनिक स्पट धेरैको रोजाइमा पर्ने स्पट हो ।सार्वजनिक बिदाको दिनमा यो स्पट भरीभराउ हुने गरेको छ ।

पछिल्लो समय यो स्पटमा रहेको चुच्चे ढुंगा, हर्स राइड र पिङले मानिसहरुलाई आकर्षित गर्ने गरेको छ । यो सँगै धुलिखेलमा रहेको हजार सिँढी आन्तरिक तथा बाह्य बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । धुलिखेल नगरपालिका ८ को देवीस्थानमा रहेको यस स्थानमा पिकनिक खान तथा घुम्न जानेहरुको रोजाइमा पर्छ ।

यस स्थानमा पिकनिकको लागि २ हजारदेखि ७ हजारसम्म शुल्क लाग्छ । सडक किनारामा पार्किङ गर्नुपर्छ । त्यसैगरी, शौचालयको लागि ठाउँठाउँमा शौचालय निर्माण गरिएको छ । बत्ति र पानीको राम्रो व्यवस्था रहेको छ । विशेषगरी सार्वजनिक बिदाको दिन पिकनिक जाने हो भने एक हप्ता अगाडी नै ठाउँ बुक गर्नुपर्ने हुन्छ । यस स्थानमा पुग्न रत्नपार्क र कोटेश्वरबाट सार्वजनिक गाडी चढेर जान सकिन्छ ।

गोदावरी : ललितपुरको गोदावरी नगरपालिकामा पर्ने गोदावरी काठमाडौंबाट नजिकको पिकनिक गन्तव्य हो । सातदोबाटोबाट ८ किलोमिटर दूरीमा रहेको यो ठाउँमा गाडीमा जाने हो भने करिब ३० मिनेटमा पुग्न सकिन्छ । यो ठाउँमा पुग्नको लागि लगनखेलबाट गाडी लाग्छ । शान्त हरियाली वातावरणमा वनभोजको मज्जा लिन सकिने यो ठाउँ काठमाडौंवासीको रोजाइको वनभोज गन्तव्य रहेको मानिन्छ । यहाँका पिकनिक स्पटमा पानी, बत्तिको व्यवस्था छ ।

त्रिभुवन पार्क : काठमाडौँको दक्षिणपश्चिम प्रवेशद्वार थानकोटमा रहेको त्रिभुवन पार्क पिकनिकको लागि एक उपयुक्त गन्तव्य हो । शान्त वातावरणमा रहेको यो पार्क कलंकीबाट ६ किलोमिटर दूरीमा रहेको छ । राजा त्रिभुवनको नामबाट यो पार्कको नामाकरण गरिएको हो । यस स्पटमा पुग्न रत्नपार्क, कलंकीबाट सार्वजनिक गाडी पाइन्छ । स्पट अनुसार २ हजारदेखि ४ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ ।

स्वीजरल्याण्ड पार्क : स्वीजरल्याण्ड पार्क काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ मा पर्छ । अग्लो डाँडाको बीचमा रहेको यो पार्क कलंकीबाट ७ किलोमिटर दूरीमा रहेको छ । सबैको रोजाइमा पर्ने पर्ने यो पार्कमा बत्ति,पानी र शौचालयसँगै पार्किङ्को पनि सुविधा रहेको छ ।

विगतमा पिकनिकको लागि २ हजार ७०० शुल्क तोकिएको थियो भने हालै व्यवस्थापन समितिको बैठकले स्पटको लागि ३ हजार २०० तोकेको छ । जहाँ १६ वटा पिकनिक स्टल रहेका छन् । एक स्टलमा १०० जना सम्म अट्न सक्छन् । स्वीजरल्याण्ड पार्क जान रत्नपार्कबाट सार्वजनिक यातायता चढेर जान सकिन्छ ।

चोभार : चोभार काठमाडौंको चक्रपथबाट सबैभन्दा कम दूरीमा रहेको पिकनिक स्पट हो । बल्खुबाट करिब १ किलोमिटर दूरीमा रहेको यो ठाउँ सरासर गाडीमा जाँदा करिब १० मिनेटमा पुगिन्छ । यो पार्क व्यवस्थापनको जिम्मा मञ्जुश्री पार्क व्यवस्थापनले गर्दै आएको छ ।

नगरकोट : नगरकोट काठमाडौं उपत्यकाको एक मुख्य पर्यटकीय क्षेत्र हो । यहाँ पिकनिक मात्र नभएर अन्य समय पनि आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गर्छ । जहाँ पिनिकको लागि पर्याप्त पानी, शौचालय तथा पार्किङको व्यवस्था रहेको छ ।

यहाँ जानका लागि रत्नपार्कबाट भक्तपुरको कमल बिनायकसम्म जमने बस पाइन्छ । फेरि कमलबिनायकबाट अर्को बस चढेर जान सकिन्छ । प्राइभेट सवारी हुनेले सिधै जान सक्छन् । यहाँ पिकनिकको लागि ३ हजारदेखि ५ हजारसम्म शुल्क लाग्छ ।

जरसिङपौवा : जरसिङपौवा काठमाडौं र सिन्धुपाल्चोकको सीमानामा पर्ने पिकनिक स्पट हो । रत्नबाटबाट चाबहिल, जोरपाटी, साँखु हुुँदै यो ठाउँमा पुग्न सकिन्छ । साँखु (शाली नदी) भन्दा माथिल्लो डाँडाँ पर्ने यो स्पटमा सार्वजनिक यातायात कै प्रयोग गरेर पुग्न सकिन्छ ।

यहाँको पिकनिक स्पटमा पनि पानी लगायतको सुविधा रहेको छ । स्पट अनुसार १ हजार ५०० देखि शुल्क रहेको छ ।

घ्याप्पे डाँडा : भक्तपुर जिल्लामा रहेको पाइलट बाबा (घ्याप्पे डाँडा) पनि धेरैको रोजाइमा पर्ने पिकनिक स्पट हो । भक्तपुरको सूर्यविनायक हुँदै यो स्थानमा पुग्न सकिन्छ ।यहाँका पिकनिक स्पटमा पानी, बत्ति, पार्किङ लयागत सुविधा रहेका छन् । स्पट अनुसार २ हजारदेखि ४ हजारसम्म शुल्क रहेको छ ।

लाकुरीभञ्ज्याङ: लकुरी भञ्ज्याङ ललितपुरको दक्षिणपूर्वी क्षेत्रमा रहेको प्रसिद्ध पिकनिक स्पट हो । डाँडामा रहेको यस स्थाबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

लाकुरी भञ्ज्याङको आधार सानागाउँ÷सिद्धिपुर वा लामाटारबाट यो दुई घण्टाको पैदल दूरीमा रहेको छ भने सवारी साधनमा जानेले ग्वार्कोबाट करिब आधा घण्टामा पुग्न सक्छन् ।पिकनिको साथै पदयात्रा गर्न रुचाइने यो ठाउँमा बत्ति, पार्किङको सुविधा रहेको छ । स्पटको शुल्क २ हजारदेखि माथि रहेको छ ।