एमसीसी पास गराउन प्रचण्डले ठेक्का लिए, अमेरिकालाई कसरी यस्तो आश्वासन दिए ?

  • प्रकाशित मिति : २०७८ पुष १०, शनिबार
  • chhanbin.com

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे अमेरिकासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

शनिबार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीबारे राष्ट्रिय सहमति बनाउन लागिएको र त्यसको लागि समय लाग्ने भएकाले अनावश्यक दबाब नदिन अमेरिकालाई भनिएको बताएका हुन् ।

उनले भने, ‘एमसीसीबारे अमेरिकासँग निरन्तर संवाद भइरहेको छ । राष्ट्रिय सहमति बनाउने प्रयासमा छौं, त्यसको लागि समय लाग्न सक्छ । त्यसकारण कुनै दबाब हुनु हुँदैन भनेको छु ।’ प्रचण्डले अनुदानमा आएको रकम फिर्ता नहोस भन्ने आफ्नो चाहना भएको बताए ।

‘अनुदानमा आएको रकम फिर्ता होस् भन्ने हामी चाहँदैनौँ । विकासको लागि पैसा चाहिएको छ । तर, बीचका केपी ओली र अर्थ मन्त्रालयबाट जे काम भएको छ त्यसले जनमानसमा गम्भीर आशंका उत्पन्न गरेको छ । त्यसलाई टुंगो नगरी अगाडि बढ्दा नेपाल र अमेरिकालाई पनि फाइदा हुँदैन’ प्रचण्डले भने ।

त्यसैगरी उनले पाँच दलिय गठबन्धन टुटाउन नेकपा एमालेले अनेक षडयन्त्र गरिरहेको आरोप लगाए । ‘एमाले यो गठबन्धन टुटाउन जे पनि गर्ने भनेर वक्तव्यबाजी गरिरहेको छ । हामी मजबुद एकता बनाउने गरी मिहिनेत गरिरहेका छौँ,’उनले भने ।

एमाले अझैपनि प्रतिगमनतर्फ उन्मुख भएकाले उसले प्रतिनिधिसभामा अवरोध कामय राखेको उनले बताए । ‘सदनमा अहिले गाईजात्र देखिएको छ, एमाले गुटले दिनदिनै अवरुद्ध गरेको छ । संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगले त्यो छुट नदिएपनि प्रतिनिधिसभा काम छैन भन्ने साबित गराउन सदन चल्न दिएको छैन ।’ प्रचण्डले भने । उनले एमसीसी पास गराउछु भनेर आफुले अमेरिका संग एक प्रकारको ठेक्का नै लिएको पनि बताएका हुन्।