अर्थमन्त्रीले तोक लगाएपछि अब ट्राफिक प्रहरीले फेरि पाउने भए तलबको ४० प्रतिशतसम्म भत्ता

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै अतिरिक्त भत्ता पनि पाउनेछन् ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयबाट अर्थ मन्त्रालयमा पुगेको प्रस्तावमा अर्थमन्त्रीले तोक लगाएको भन्ने जानकारी प्राप्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

अर्थबाट बजेट स्वीकृत भएपछि ट्राफिक प्रहरीका परिचरदेखि हवल्दारसम्मकाले तलबको ४० प्रतिशत, असई र सईले २० प्रतिशत, प्रहरी निरीक्षक र डीएसपीले १० प्रतिशत अतिरिक्त भत्ता पाउनेछन् ।