प्रधानमन्त्री देउवा पुस २५ गते भारत जाने, तीन दिन उतै बिताउने

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले पुस २५ गते तीनदिने भारत भ्रमणमा प्रस्थान गर्ने तयारी गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गान्धीनगरमा पुस २६ देखि २८ सम्म हुन लागेको ‘भाइब्रेन्ट गुराजत ग्लोबल समिट’ मा भाग लिन देउवा भारत जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतको तर्फबाट देउवाको भ्रमणका लागि प्रस्ताव आएको र नेपाली पक्ष सकारात्मक देखिएको छ । प्रधानमन्त्री देउवाले पनि परराष्ट्र मन्त्रालयलाई भ्रमणको तयारीबारे गृहकार्य गर्न निर्देशन दिइसकेका छन् ।

‘मन्त्रालयले अहिलेको लागि पुस २५ देखि २७ गतेसम्मको मितिको तयारी गरेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने,‘यो अन्य बेलाको जस्तो राजकीय भ्रमण होइन ।’

स्रोतका अनुसार सम्मेलनमा प्रधानमन्त्री देउवाले कुनै एक सत्रमा आफ्नो विचार राख्ने गरी गृहकार्य भइरहेको छ । कार्यक्रमकै दौरान देउवाले भारतका प्रधानमन्त्री मोदीसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने बताइएको छ ।

मोदीसँगको भेट गान्धीनगरमा हुने वा नयाँ दिल्लीमा हुने बारेमा गृहकार्य भइरहेको छ । ‘द्वीपक्षीय भेटवार्तामा दुई मुलुकबीच कुन विषयबारे छलफल गर्ने भन्ने सम्बन्धमा मन्त्रालयले गृह कार्य गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

गत असारमा पाँचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो दोस्रो विदेश भ्रमण हो । देउवा यसअघि बेलायतको ग्लास्गो सहरमा भएको कोप–२६ मा नेपालको उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गएका थिए ।