२ हजार ६० जना शिक्षकले राजनीति गर्न जागिर छोडे, अहिले सम्म कति दरबन्दी रिक्त भयो ?

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

पछिल्लो समय स्वेच्छिक अवकाश लिने शिक्षकको संख्या बढ्न थालेको छ। सेवा निवृत्त शिक्षकहरुलाई सेवासुविधा प्रदान गर्ने निकाय राष्ट्रिय किताबखाना (शिक्षक) कार्यालयले स्वेच्छिक अवकास लिने र राजीनामा दिने शिक्षकको संख्यामा अघिल्ला वर्षको तुलनामा उल्लेख्य रुपमा वृद्धि भएको जनाएको हो।

अघिल्ला वर्षमा ३२ सयदेखि ३५ सयसम्म शिक्षकले पेनसन पट्टा बनाउने गरेकोमा यस वर्षको ६ महिनामा २ हजार ६० जना शिक्षकले अनिवार्य अवकास र राजीनामा दिएको शिक्षक किताबखानाले जनाएको छ।शिक्षकले सक्रिय राजनीतिलाई छनोट गरेपछि अवकास लिन थालेको सरोकारवालाहरू बताउँछन्।

शिक्षकले राजीनामा दिँदा वा स्वेच्छिक अवकाश लिँदा राजनीति लाग्न भनेर उल्लेख गरेका हुँदैनन्। शिक्षकहरू प्रत्यक्ष राजनीतिमा लाग्न थालेपछि परेको मुद्दामा सर्वोच्च अदालत र पाटन उच्च अदालतले दलका प्रतिनिधि नबन्न आदेश दिएको थियो। यस्तै निर्वाचन आयोगले पनि शिक्षकहरूलाई प्रतिनिधि नबन्न निर्देशन दिएको थियो। सोही कारण राजनीतिक दलका पदाधिकारी बन्न चाहने शिक्षकहरु धमाधम स्वेच्छिक अवकाशमा जान थालेका हुन्।

मंसिरमा मात्र ६८० जना शिक्षकले अवकाश लिएका छन्। जसमध्ये २६४ जना शिक्षकले अनिवार्य अवकाश लिएका हुन् भने ३६८ जना शिक्षकले राजीनामा दिएका छन्। मंसिरमा मात्र ६८० जना शिक्षकले अवकाश लिएका छन्। जसमध्ये २६४ जना शिक्षकले अनिवार्य अवकाश लिएका हुन् भने ३६८ जना शिक्षकले राजीनामा दिएका छन्। ३४ जना शिक्षकले उपदान पाएका कारण र १४ जना शिक्षकको मृत्यु भएपछि पेनसनपट्टा बनेको किताबखानाले जनाएको छ। अधिकांश शिक्षकको राजीनामा राजनीतिक कारणले भएको सरोकारवालाको भनाइ छ।

राष्ट्रिय किताबखाना (शिक्षक) का कामु महानिर्देशक रामराज खकुरेलले कतिपय शिक्षकले राजनीतिक, सामाजिक र स्थानीय पालिकाको प्रोत्साहनका कारण राजीनामा दिएको हुन सक्ने बताए। ‘केही समयपछि स्थानीय तहको निर्वाचन पनि हुँदैछ। यसकै तयारीका लागि पनि राजीनामा दिएको हुन सक्छ। राजनीतिक दलको महाधिवेशन प्रतिनिधि बनेका वा विभिन्न पदमा निर्वाचित भएका कतिपय शिक्षकले सेवाबाट राजीनामा दिएका हुन सक्छन्’, कामु महानिर्देशक खकुरेलले भने, ‘राजनीतिक दलसम्बन्धी ऐनअनुसार सर्वोच्च अदालतको आदेश पालना गर्न बहालवाला शिक्षक कुनै राजनीतिक दलको प्रतिनिधि हुन नपाउने भएपछि स्वेच्छिक अवकाश लिन पाउने व्यवस्थाअनुसार शिक्षकले अवकाशका लागि निवेदन दिएका छन्। पहिले भन्दा अहिले अवकास लिने शिक्षकको संख्या बढेको छ।’

पेन्सन भइसकेका शिक्षक सरुवाका कारण वा समाजिक कार्यमा सक्रिय हुन पनि स्वेच्छिक अवकाश लिएको उनको भनाइ छ। राजीनामा गर्न चाहने शिक्षकको भीड बढेपछि किताबखानामा कामको चाप पनि बढेको कार्यरत कर्मचारीले बताए। कार्यालयमा दर्ता हुने निवेदनमध्ये शिक्षक अवकाश र राजीनामाको हुने गरेको उनीहरूको भनाइ छ।

शिक्षा ऐनमा भएको व्यवस्थालाई पालना गर्न गराउन निर्वाचन आयोग र अदालतले निर्देशन दिएपछि राजीनामा गर्ने शिक्षकको संख्या बढेको हो।पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलको अधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित भएका छन्।

शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले राजनीतिक दलका विभिन्न पदमा निर्वाचित भएका शिक्षकहरू पदमा रहिरहन नपाउने विषयमा सर्वोच्च अदालतले आदेश दिएका कारण कतिपयले स्वेच्छिक अवकाश लिन पुगेको बताइन्। उनका अनुसार राजनीतिमा सक्रिय शिक्षकहरुले शिक्षण पेसालाई छोडेर राजनीतिलाई नै रोजेकाले अवकास लिने शिक्षकको संख्या बढेको हो। ‘व्यावहारीक रुपमा स्वेच्छिक अवकाश शिक्षकले विभिन्न कारणले लिने गरेका छन्। अहिले निर्वाचनका कारण र राजनीतिक दलमा सक्रिय हुनका लागि शिक्षकले अवकाश लिएको जस्तो देखिन्छ। वार्ता चलिरहेको समयमा शिक्षकहरु निराश पनि छन्। अन्य अवसर पाएका शिक्षक लामो समय शिक्षण पेसामा बस्न चाहिरेका छैनन्।’

त्यसो त लामो समय अध्यापन गराएका शिक्षकलाई स्थानीय पालिकाले स्वेच्छिक अवकाश लिन प्रोत्साहन भत्ता पनि उपलव्ध गराएका छन्। धेरै वर्ष अध्यापन गराइसकेका कतिपय शिक्षकले भने स्थानीय तहहरुले दिएको प्रोत्साहन भत्ताका कारण पनि राजीनामा दिएर सामाजिक कार्यमा सक्रिय भएका छन्।

शिक्षासम्बन्धी ऐनले शिक्षकहरुलाई दलमा आवद्ध भई सक्रिय राजनीति गर्न रोक लगाएको छ। तर पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा लगायतका दलको अधिवेशन हुँदा धेरै शिक्षकहरु दलको विभिन्न तहको कार्यसमितिमा निर्वाचित भएका छन्।

शिक्षक राजनीतिक दलको निर्वाचनमा सहभागि हुने विषयमा सर्वोच्चमा परेको रिटमा अदालतले शिक्षकहरुलाई दलको कार्यसमितिमा बस्न र प्रतिनिधि बन्न रोक लगाउने निर्णय गरेको थियो।