नेपाल प्रहरीका एसएसपी सुशील कुमार यादव मृत अवस्थामा फेला परेका छन्। उनी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। संघीय प्रहरी कार्यालय भैरहवाका प्रमुख रहेका उनी सरकारी निवासभित्रै झुन्डिएको अवस्थामा फेला परेका प्रहरी स्रोतले जानकारी दिएको छ।
एउटै ब्याचका अफिसरहरु कोही आइजी हुने,कोहि तल्तिरैबाट घर जाने अपमानजनक अवस्थासङ्ग जुझ्दै गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यादवले आज मृत्युको बाटो रोजेका छन् । सघीय प्रहरी कार्यालय (पुरानो अञ्चल प्रहरी) भैरहवास्थित आफ्नै क्वार्टरमा उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
यादव सँधै हँसिलो र सहयोगी भावनामा रहने गरेको तर पछिल्लो बढुवाको सूचीमा छुटाइएपछि निराश देखिँदै आएको सहकर्मीहरु बताउँछन् । उनी एआईजी विश्वराज पोखरेल र सहकुल थापालगायतको ब्याचमेट समेत हुन् ।
उनका कतिपय ब्याची यसबीच बढुवा भएर माथिल्लो तहमा पुगेका छन् भने कतिपय अवकाशसमेत हुन थालेपछि यादवको व्यवहार फरक देखिँदै आएको प्रहरीका उच्च अधिकृतहरुको बुझाइ छ ।
श्रोतका अनुसार यादव नवलपरासी निवासी र पूर्व प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका भाञ्जा हुन् । यादवकी आमा प्रधानकी आफ्नै दिदी हुन् । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल यादवकी सानिमा हुन् ।
उनीहरुको ब्याचका विक्रम चन्द, शेखर कोइराला,नरबहादुर केसी, सुदीप राजभण्डारीलगायतले यसवीच अवकाश पाइसकेका छन् । यीमध्येका राजभण्डारी बढुवा भएको दुई दिनपछि अवकाश पाएर घर गएका हुन् ।
उनको मृत्युबारे अनुसन्धान सुरु गरिएको बताइएको छ। यादव २०४९ सालमा सेवा प्रवेश गरेका र उमेर हदका कारण माघ १५ गते अवकाश पाउन लागेका थिए। उनले अवकाश पाउनु ३६ दिन अगाडी नै कहिल्यै कतै नफर्किने गरि पासो लगाएर आफ्नो इहलीला समाप्त पारेका हुन्।