विदेशी श्रमिकको कतार सरकारले तलब वृद्धि गर्यो, लाखौं नेपालीको पनि बढ्यो तलब

  • प्रकाशित मिति : २०७८ पुष ९, शुक्रबार
  • chhanbin.com

नेपाली श्रमिकका लागि रोजगारीको गन्तव्य मुलुक कतारमा विदेशी श्रमिकहरुको पारिश्रमिक वृद्धि भएको छ । कतार सरकारले १ हजार रियालभन्दा कम पारिश्रमिक भएका आप्रवासी कामदारको पारिश्रमिक झन्डै दोब्बरले बढाएको हो ।

प्रतिमहिना १ हजार रियालभन्दा कम आम्दानी भएका श्रमिकको तलब १ हजार ८०० रियाल पुर्याइएको नेपालस्थित कतारी दूतावासले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

दूतावासका अनुसार अब खान‚ बस्नको राम्रो व्यवस्था भएका कम्पनीले महिनावारी १ हजार रियल तलब दिनुपर्ने र यस्तो व्यवस्था नभएका रोजगारदाताले मासिक १ हजार ८०० रियाल दिनै पर्ने बाध्यकारी व्यवस्था लागू गरेको छ ।

खाडीको देश कतार नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशमध्ये एक हो । कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने निश्चित भएसँगै आप्रवासी श्रमिकमाथि लगाएका विभिन्न नियम परिवर्तन गरिरहेको छ ।

कतार सरकारको पछिल्लो यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकलाई पनि फाइदा पुग्नेछ । यसले कतारमा रहेका लगभग एक हजार रियालभन्दा कम पारिश्रमिक लिएर काम गरिरहेका एक लाखभन्दा बढी नेपालीले लाभ लिनेछन्।