सेयर बजारमा लगातार बढेको छ । मंगलबारदेखि उकालो लागेको बजार लगातार दोहोरो अंकले बढेको हो । पछिल्ला तीन दिनमा नेप्से १६० अंकले बढेको छ ।
सूचकमा बढोत्तरी आए पनि कारोबार रकम भने बढ्न सकेन । आज अघिल्लो दिनकै हाराहारीमा करिब साढे ४ अर्बको कारोबार भएको छ ।
बिहीबार सेयर बजार मापक सूचक नेप्से १२.५३ अंकले बढेर २५२०.२३ विन्दुमा पुगेको छ । आज २२९ कम्पनीको ४ अर्ब ४९ करोड २ लाख ६६ हजार ४१० रुपैयाँ बराबरको ८३ लाख २३ हजार ९२३ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ समूहको परिसूचक राताम्मे भएको छ । निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.५६ प्रतिशतले बढेको छ भने फाइनान्स समूह १.९५ प्रतिशतले घटेको छ ।
दोहोरो अंकले बढेको बजारमा आज शिखर इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, वरुण हाइड्रोपावर र जीवन विकास लघुवित्तका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । त्यस्तै, नारायणी विकास बैंक ८.८७, नेको इन्स्योरेन्स ८.०२, शिवम् सिमेन्ट ६.२२, एनएलजी इन्स्योरेन्स ५.४२, नेपाल इन्स्योरेन्स, एनएमबी माइक्रोफाइनान्स, सानिमा जनरल इन्स्योरेन्स, सूर्य लाइफ इन्स्योरेन्स, लक्ष्मी लघुवित्त र रिलायन्स इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
बढ्दो बजारमा आज गोर्खा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ६.७४ प्रतिशत गुमाएका छन् ।