नेप्सेमा सूचीकृत चार कम्पनीको लाभांश पाउन सेयर किन्ने आज (पुस ८ गते) अन्तिम दिन रहेको छ । ज्योति विकास बैंक, एनएमबी लघुवित्त, सूर्य लाइफ इन्स्योरेन्स र बुटवल पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
चारै कम्पनीले साधरणसभा प्रयोजनका लागि भोलि (पुस ९ देखि ११ गतेसम्म) बुकक्लोज मिति तोकेका छन् । तसर्थ, आजसम्म नेप्सेमा कारोबार भइ कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।
ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५ प्रतिशत नगद गरी कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २३ गते लिसारा रिसप्सन, नक्साल, काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।
त्यसैगरी, एनएमबी लघुवित्तले गत वर्षको नाफाबाट घोषणा गरेको २१.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६३ प्रतिशत लाभांश पारित गर्न पुस २६ गते नवौं वार्षिक साधरण सभा बोलाएको छ । सभा होटल ग्राण्ड पोखरामा हुनेछ ।
त्यस्तै, सूर्य लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्ने मुख्य एजेन्डासहित पुस १९ गते तेह्रौं वार्षिक साधरण सभा बोलाएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को मुनाफाबाट प्रस्ताव गरेको १३.३६ प्रतिशत लाभांश पारित गर्न होटल ह्यारिसन प्यालेस, विराटनगरमा सभा बोलाएको हो ।
त्यस्तै, बुटवल पावरले गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश पारित गर्न पुस २६ गते २९ औं वार्षिक साधरण सभा बोलाएको छ । चारै कम्पनीको प्रस्तावित लाभांश साधरण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।