प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै उनीहरुले रोष्ट्रमअगाडि पुगेर नाराबाजी गरेका हुन्।
उनीहरुले संसदीय सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गरलगायतका नाराबाजी गरेका छन्।
संघीय संसद्को दशौँ अधिवशेन गत मंसिर २८ गतेदेखि शुरु भएको छ। विधेयक अधिवेशनका रुपमा रहेको चालु अधिवेशन निर्वाध रुपमा चल्ने संकेत देखिएको छैन। एमालेको अवरोधका बीच पनि सभामुखले संसद् कार्यसूचीमा प्रवेश गराउँदै आएका छन्।
संसदमा देखिएको अवरोध हटाउन सरकार र सभामुखले पहलकदमी लिए पनि त्यसले सार्थक रुप लिन सकेको छैन। संसद्को सबैभन्दा ठूलो दल एमालेले संसद्लाई प्रभावकारी बनाउन सभामुख तथा सरकारले बोलाएको सर्वदलीय बहिस्कार गरिरहेको छ।
एमालेले आफूले कारबाही गरेको १४ सांसद पदमुक्त भएको सूचना समामुखले टाँस नगरेको जनाउँदै संसद् बैठक अवरुद्धदेखि सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ। एमालेले उठाउँदै आएको ती सांसदमाथि कारबाहीको विषय अदालतमा विचराधीन छ । प्रतिनिधिसभा नियमावलीले अदालतमा विचराधीन विषयमा संसदमा छलफल गर्न नसकिने व्यवस्था गरेको छ।