अदालतको आदेशपछि आत्तिए शिक्षक, मंसीरमा मात्र ६८० शिक्षक पद भयो रिक्त

  • प्रकाशित मिति : २०७८ पुष ६, मंगलवार
  • chhanbin.com

एकै महिनामा ६८० शिक्षक पद रिक्त भएको छ । अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको हो। यो मंसिर महिनाको मात्र विवरण हो।

पदावधि बाँकी छँदै राजीनामा दिने शिक्षकको संख्या मंसिरमा धेरै देखिएको छ । यो महिना मात्र ३६८ जना शिक्षकले राजीनामा दिएका छन् ।

राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक रामराज खकुरेलका अनुसार मंसिरमा मात्रै ३६८ जनाले शिक्षकले पदावधि बाँकी छँदै निवृत्तिभरण पत्र लिएका छन् । चालु आर्थिक वर्षमा अनिवार्य अवकाश लिनेको संख्या करीब २७ सय रहेकामा साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा मात्रै २ हजार ६० जनाले निवृत्तिभरण पत्र बुझिसकेका छन् ।

समयावधि बाँकी हुँदै निवृत्तिभरण पत्र लिनेको चाप बढेपछि विश्लेषणको लागि तथ्यांक निकालेको महानिर्देशक खकुरेलले जानकारी दिए ।

विभिन्न पार्टीको कार्यसमितिमा रहेका, दरबन्दी मिलान हुँदा अर्को स्थानीय तह वा जिल्लामा खटाइएका, जागिर छोड्दा स्थानीय तहको आकर्षक प्रोत्साहन भत्ता पाउने र आउने निर्वाचनमा भाग लिन चाहने शिक्षकहरुले निवृत्तिभरण पत्र लिएको बुझिएको छ। अदालतले शिक्षकले राजनीतिक दलको सदस्यता लिए र उम्मेदवार गरे कारबाही गर्न आदेश दिएको छ। अर्कातिर शिक्षकको उमेर हद बढ्ने हल्लाले पनि शिक्षक ले धमाधम राजीनामा दिएका छन्।