नेपालमा केही यस्ता उच्च प्रशासक छन्, जसको ध्यान पैसा कमाउने बाहेक केही छैन । तिनैमध्ये एक हुन् सहसचिव तेजनारायण यादब ।
हाल यातायात व्यवस्था कार्यालय, लुम्बिनीको प्रमुख रहेका यादबको जागिर अवधिमध्ये सबै जसो यातायातमै बितेको छ । उपसचिव हुँदा उनी यातायात कार्यालय एकान्तकुनाको प्रमुख थिए । त्यतिबेला लाइसेन्स बिक्री भएको खुलेपछि उनीसहित २१ जना कर्मचारीविरुद्ध अख्त्यिारले मुद्दा दायर गर्यो । फेल भएकालाई पैसा लिएर लाइसेन्स दिएको पुष्टि भएपछि चार जना तल्लो तहकालाई दोषी ठहर गरी चार यादबसहित १७ जनालाई उन्मुक्ति दिइएको थियो ।
सफाई पाएपछि उनी यातायात कार्यालय, पोखराको प्रमुख भए । त्यहाँ पनि उनको लुट धन्दा जारी रह्यो । अदालतमा धेरै खर्च भएको भन्दै उनले एउटै लाइसेन्समा एक लाख रुपैयाँसम्म असुल्न थाले । अख्तियारले त्यसको छानबिन समेत गर्यो । छानबिनमा नियमअनुसार परीक्षा समिति नै गठन गरी लाइसेन्स वितरण गरेको पुष्टि भयो । तर, अख्तियारले मुद्दा चलाउन सकेन । अख्तियारमा पनि उनले सेटिङ मिलाए ।
अहिले लुम्बिनीमा उनको आतंक चलेको छ । खुलेआम रुपमा फेल भएकालाई परीक्षा दिने धन्दा चलिरहेको छ । हालै हेभि इक्विपमेन्टको लाइसेन्स परीक्षामा दुई सय १३ जना सहभागी भएकोमा पछि नाम थपेर दुई सय ३७ जनालाई उत्तिर्ण गराइएको छ । एक जनावापत डेढ लाखसम्म लिएर यसरी लाइसेन्स बिक्रि गरिएको हो ।
जून विषयमा लुम्बिनीको श्रम तथा यातायात व्यवस्था मन्त्रालयले छानबिन थालेको थियो । तर, उनले मन्त्रालयका सचिव कुमार दाहाललाई नै पावर लगाएर त्यहाँबाट हटाइदिए जसकारण छानबिन प्रभावित बनेको छ । अख्तियारका उच्च अधिकारीसँग सेटिङ रहेको भन्दै उनले अवैध धन्दा जारी राखेको स्रोत बताउँछ । केही नेताहरुलाई समेत आर्थिक प्रभावमा पारेर उनले यस्तो कमाउ धन्दा चलाएका हुन् ।