प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबारका लागि न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बार एसोसिएसनले जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको र सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि जबरासँग इजलास सेयर गर्न अस्वीकार गरिरहेको अवस्थामा जबराले आयोगको बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश जबरा अध्यक्ष रहेको न्याय सेवा आयोगमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपककुमार कार्की, लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र महान्यायाधिवक्ता खम्मबहादुर खाती सदस्य छन् ।
आयोगले यसअघि सञ्चालन गरेको जिल्ला न्यायाधीशहरुको परीक्षाको नतिजा प्रकाशनका लागि आयोगको बैठक बोलाइएको आयोग स्रोतले बतायो ।
जबराविरुद्ध आन्दोलित नेपाल बारले जबराले नेतृत्व गर्ने न्याय सेवा आयोग, न्याय परिषद् जस्ता संस्थाका बैठकमा सहभागी नहुन आग्रह गर्दै सदस्यहरुलाई पत्राचार गरेको छ । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश कार्कीले पनि अहिलेको अवस्थामा जबराले नेतृत्व गर्ने बैठकहरुमा सहभागी हुन नसक्ने बताउँदै आएका छन् ।