पर्यटन बोर्डका जड्याहा सीईओ रेग्मीलाई थमाईयो निलम्बनको पत्र

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई निलम्बनको पत्र दिइएको छ ।

शुक्रबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले सीईओ रेग्मीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । बोर्डको सञ्चालक समितिको बैठकले रेग्मीमाथि चारवटा आरोप लगाएर निलम्बन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार रेग्मीलाई दिएको निलम्बनपत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कर्मचारीमाथि गरेको हातपात, बोर्ड अध्यक्ष तथा पर्यटन सचिवले बोर्ड बैठक बोलाउन आग्रह गर्दा अटेर गरेको, आर्थिक अनियमितताको उजुरी परेको र बेलायतस्थित आईटीबी कार्यक्रममा जाँदा अनियमितता गरेको आरोप लागेको छ । आईटीबी कार्यक्रममा निजी क्षेत्रका कम्तीमा १० वटा कम्पनी सहभागी नहुने भएमा बोर्डबाट प्रतिनिधि सहभागी नहुने व्यवस्था छ ।

गत कात्तिकको कार्यक्रममा नेपालबाट चारवटामात्रै सहभागी थिए । त्यसमा बोर्डका सीईओ रेग्मी गएका थिए । रेग्मीको उक्त सहभागितालाई पनि बोर्ड सञ्चालक समितिले प्रश्न उठाएको हो । सीईओको सचिवालय मर्मतसम्भारमा पनि टुक्राटुक्रा गरेर ठेक्का लगाई आर्थिक अनियमितता गरेको उजुरी पनि रेग्मीमाथि लागेको छ । त्यसलाई बोर्ड कारबाहीको एउटा आधार बनाएको हो ।

रेग्मीलाई निलम्बन गरी उनीमाथि लागेका आरोप छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको नेतृत्वमा तीन सदस्यीय कमिटी पनि गठन भइसकेको छ । कमिटीले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।