कांग्रेसको केन्द्रीय सदस्यमा १३ औं र १४ औं महाधिवेशनमा हार्ने यी हुन् पाँच नेता

  • प्रकाशित मिति : २०७८ पुष ५, सोमबार
  • chhanbin.com

१३ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा पराजित पाँच जनाले यसपटक पनि पराजय भोगेका छन्। केन्द्रीय सदस्यमा पराजय भोग्नेमा बढी शेखर कोइराला प्यानलका छन्। बेलायतका लागि पूर्व राजदूत डा. सुरेशचन्द्र चालिसेले दोस्रोपटक पराजय भोग्नु परेको छ।

१३औं महाधिवेशनमा पराजित चालिसेले १४औं महाधिवेशनमा पनि जित निकाल्न सकेनन्। सभापतिका उम्मेदवार कोइरालको प्यानलबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका उनले १२९४ मत ल्याए। गत महाधिवेशनमा चालिसेले २१० मत मात्रै ल्याएका थिए। चालिसेले यसपटक अंक बढाए पनि ३५ जना भित्र पर्न सकेनन्।

१३ औं महाधिवेशनमा कुनै पनि प्यानलमा नपरेर जीत निकाल्न नसकेको बताएका राजेन्द्र बजगाईंले दोस्रोपटक पनि पराजय भोगे। १३औं महाधिवेशनमा ४०४ मत ल्याएका बजगाईंले यसपटक मत अंक भने बढाए। १७०७ मत ल्याउने ३५ जनामा अट्नसक्ने अवस्थामा बजगाईंको १३५३ मत आएको छ। बजगाईंले कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए।

दोस्रोपटक केन्द्रीय सदस्यमा पराजित हुने अर्का उम्मेदवार हुन्, लक्ष्मणबहादुर बस्नेत। ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष समेत रहेका बस्नेतले १२३७ मत ल्याएर पराजित भए। उनी कोइराला पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवार थिए।

शेखर पक्षमा नै परेर उम्मेदवारी दिएका पूर्वसांसद त्रैलोक्य प्रताप सेन दोस्रोपटक केन्द्रीय सदस्यमा पराजित भए। उनले ९४४ मत ल्याए।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का पनि दोस्रोपटक पराजित भएका छन्। सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका उनलाई मत माग्ने बेला भने उक्त पक्षले सूचिमा राखेन। दोस्रोपटक पराजित हुनेहरुमा थोरै मत प्राप्त गर्नेमा खड्का परेका छन्। उनले ४५३ मत मात्रै ल्याए।

गत महाधिवेशनमा खुला तर्फ २५ जना चयन हुने व्यवस्था थियो। संसोधित विधान अनुसार ३५ जना खुला तर्फ निर्वाचित हुने व्यवस्था गरेको छ। गत महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि ९० जनाको उम्मेदवारी परेको थियो। ३५ जना खुलाका लागि यसपटक ९९ जना भिडेका भिडेका थिए।

जारी मतगणनामा सभापति देउवा स्पष्ट बहुमतमा देखिएका छन्। निर्वाचित १३ जना पदाधिकारीमा कोइराला पक्षमा स्पष्ट खुलेका ४ जना छन्। उपसभापति पूर्णबहादुर खड्कासहित सहमहामन्त्रीका ६ जना देउवा पक्षका छन्। महामन्त्रीमा विजयी विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंह प्यानलबाट निर्वाचित भएपनि देउवातिर ढल्कने संकेत ट्विटमार्फत् गरिसकेका छन्।

खुला तर्फका केन्द्रीय सदस्यमा देउवा निकट २६ जनाले जित निकालेका छन्। पिछडिएको क्षेत्र र प्रदेश २ को महिला तर्फको केन्द्रीय सदस्य देउवा प्यानलबाट विजयी भएका छन्। खुलातर्फ महिला केन्द्रीय सदस्यको जारी गणनामा पनि देउवा पक्षका अघि छन्। महिला खुलातर्फ ९ जना चयन हुने व्यवस्था छ। १३४ जना निर्वाचित हुने कार्यसमितिमा हालसम्म देउवा पक्षबाट पदाधिकारीसहित ३६ जना विजयी भएका छन्।