एमालेले अदालतको फैसला विपरित संसद् अवरुद्ध पारेको आरोप सहित नेपालले ओलीलाई दिए यस्तो दनक

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरित संसद् अवरुद्ध पारिरहेको बताएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्वीप नलाग्ने सर्वोच्च अदालतको फैसला विपरीत गएर एमालेले संसद् अवरुद्ध पार्ने काम गरिरहेको आरोप लगाएका हुन्।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा उनले केपी ओली अदालतको सो फैसलालाई मान्ने पक्षमा नरहेको बताए। उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई नै चुनौती दिने काम गरेको तर्कसमेत गरे। अध्यक्ष नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले संविधानको ढाडस दिँदै संसद् अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्याए।

उनले भने, ‘जुन व्यक्तिले विधिविधानलाई मान्दैन, संविधानको प्रावधानलाई स्वीकार गर्दैन, कानुनी शासनको मान्यतालाई अंगिकार गर्दैन, अदालतको आदेशलाई स्वीकार गर्दैन, अदालतमा विचाराधिन मुद्दाहरुमाथि बहस गर्न पाइँदैन। छलफल गर्न पाइँदैन संसद्मा। ती विषय संसद्मा ल्याउन पाइँदैन भन्ने मान्यतालाई कुल्चिन खोज्दछ।

त्यही ठूल्ठूला स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ। नेपालीमा एउटा उखान छ– जो चोर उसैको ठूलो स्वर। त्यसो हुनाले तपाईंलाई थाहा छ– हाम्रो पार्टीको निर्माण हुनुभन्दा पहिले नै सर्वोच्च अदालतमा हामीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सारेका थियौं। त्यतिखेर जब हामीले उहाँको नाम अगाडि सारेका थियौं, सारिसकेपछि अदालतले फैसला गर्यो।

त्यो फैसला के गर्यो भने यस प्रक्रियामा संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन हुने नयाँ सरकार यस प्रक्रियामा कसैले सहभागी भयो भन्दैमा, विरोधको कुरा उठायो भन्दैमा वा फरक मत राख्यो भन्दैमा ह्वीप लाग्दैन। अदालतले गरेको आदेशमा लेखिएको छ, त्यस्तो अवस्थामा ह्विप लाग्दैन। तर केपी ओलीको यो गुट फैसलालाई मान्ने पक्षमा छैन।’

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधिन मुद्दालाई उठान गरेर संसद अवरुद्ध पार्न नपाउने पनि बताए।। आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दावी गर्दै उनले विरोधीहरुमा छटपटाहट आएको बताए।