निमाविका लागि बुधबार विज्ञापन खुलाईने, प्राबिको पनि तयारी भयो पूरा

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

शिक्षक सेवा आयोगले आउँदो शुक्रबारसम्ममा निम्नमाध्यमिक तह (निमावि)का लागि विज्ञापन खुलाउने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले निम्न माध्यमिक तहमा शिक्षक पदपूर्तिका लागि यही साता विज्ञापन गरेर आवेदन माग गर्न लागिएको जानकारी दिएका हुन् । बुधबार आयोगले बिज्ञापन प्रकाशित गर्ने भएको छ।

निमावि तहको विज्ञापनपछि त्यसको अर्को सातामै प्रावि तहको विज्ञापन खुलाउने तयारीमा आयोग गरेको मरहट्ठाले बताए । ‘अहिले हामीले मावि तहको खुलाएका छौँ । शुक्रबारसम्म निमाविको खुलाउँछौँ र आगामी हप्ता प्रावि तहको विज्ञापन खुलाउँछौँ’, उनले भने, ‘गतसालतिरको तथ्यांक हेर्दा प्रावि तहमा सबैभन्दा धेरै आवेदक हुन्छन् । त्यसैले काम खचाखच नहोस् भनेर छुट्टाछुट्टै खुलाएका हौँ ।’

अहिले शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको छ । जसका लागि २९ पुससम्ममा नियमित शुल्क र त्यसपछि माघ ६ सम्म डब्बल दस्तुर रकम तिरेर दरखास्त दिन पाइनेछ ।

आयोगले माध्यमिक तहका लागि नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक पदपूर्तिका लागि आह्वान गरेको हो ।

मरहट्ठाका अनुसार हालसम्म माध्यमिक तहका लागि ९३ जनाले प्रवेशपत्र नै लिइसकेका छन् भने करिब १ हजार जनाले फारम भरेका छन् । ‘हामीले प्रदेशगत रूपमा विज्ञापन खुलाएका छौँ । प्रदेशअनुसार विभिन्न ठाउँमा परीक्षा केन्द्र तोकेका छौँ । सोहीअनुरुप परीक्षा हुन्छ’, उनले भने । मावि तहका लागि आगामी १५ चैतबाट परीक्षा सञ्चालन हुँदैछ । जसका लागि प्रदेश नं. १ को मोरङ, प्रदेश २ का लागि धनुषा, बागमती प्रदेशका लागि हेटौँडा, ४ नं. प्रदेशका लागि कास्की, ५ नं. प्रदेशका लागि दाङ, ६ नं. प्रदेशका लागि सुर्खेत र ७ नं. प्रदेशका लागि कैलालीमा परीक्षा केन्द्र तोकिएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको प्रदेशस्तरीय परीक्षा सञ्चालन समन्वय समितिले परीक्षा सञ्चालन गर्नेछ ।