नारायणकाजी र बेदुराम सर्वदलीय बैठकमा किन उफ्रिए ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमसीसीको विषय उठेको छ। मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्‍मा एमसीसी पेस गर्ने संकेत गरेपछि नेताहरुले विरोध गरेका छन्।

नेमकिपाका सांसद् प्रेम सुवालका अनुसार कार्कीले एमसीसी पेस गर्ने संकेत गर्नासाथ माओवादी नेता नारायणकाजी श्रेष्ठले विरोध जनाएका थिए। त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद् वेदुराम भुसालले विरोध जनाएका थिए।

एमसीसीका विषयमा प्रधानमन्त्री देउवाले धारणा राख्न आग्रह गरेपछि सुवालले विभिन्न धाराहरुका सन्दर्भ उल्लेख गरेर त्यसलाई राष्ट्रघाती भएको बताएका थिए। उनका अनुसार बैठकमा राप्रपा, राजमोले पनि विरोध गरेका थिए। माओवादी केन्द्र र एकीकृत समाजवादीले भने संशोधनपछि मात्रै पारित गर्नुपर्ने बताएका थिए।

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एमसीसी पारित गर्नुपर्ने बताएका थिए।

सुवालले कांग्रेस र जसपाबाहेक सबै दलले यथास्थानमा एमसीसी पारित गर्न नहुने बताएकाले उनीहरु आफ्नो अडानमा कायमै रहे संसद्‌बाट एमसीसी पारित नहुने बताए। बैठकमा नेकपा एमाले सहभागी भएको थिएन।