यी तीन तगारा पन्छाएपछि मात्र एमसीसी सम्झौता संसद्‌मा पेश गर्ने सभामुखले लिए अड्डी

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा अघि बढाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय सहमति हुनुपर्ने, जनताबाट एमसीसीबारे उठेका प्रश्नको जवाफ दिनुपर्ने, संसद्‌मा एमालेले जारी राखेको अवरोध हट्नुपर्ने लगायतका सर्त अगाडि सारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे सरकारमा रहेका दलहरूसँग सत्तारुढ गठबन्धनको बैठक र संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग सर्वदलीय बैठक आह्वान गरेको अवस्थामा सभामुख सापकोटाले एमसीसी अगाडि बढाउनका लागि आफ्ना कुरा निकटस्थहरूलाई सुनाएका हुन् ।

सभामुखको सचिवालयकाअनुसार सभामुखले एमसीसी संसद् अवरुद्ध भइरहेको र राष्ट्रिय सहमति नभएको अवस्थामा अगाडि बढाउन आफूलाई गाह्रो पर्ने सुनाएका छन् । सभामुखको भनाई उल्लेख गर्दै उनीनिकट एक अधिकारीले भने, ‘एमसीसीबारे उहाँको धारणा प्रष्ट नै छ । उहाँले एमसीसी अगाडि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने, जनताबाट उठेका प्रश्नको सम्बोधन गर्नुपर्ने र संसद्मा छलफलको वातावरण बन्नुपर्ने कुरा राख्नुभएको छ ।’

एमालेले संसद्मा अवरोध जारी राखेको अवस्थामा कुनै पनि राष्ट्रिय महत्वका विषय अगाडि बढाउन आफूलाई असहज हुने कुरा सभामुखले आफू निकटहरूलाई बताएका हुन् । ‘अहिलेसम्म संसद्मा गरेका काम कि संवैधाानिक व्यवस्थाअनुसार टेबुल गर्नुपर्छ भनेका कुराहरू हुन् कि सामान्य प्रतिवेदन मात्रै हुन्,’ सभामुखको भनाइ उल्लेख गर्दै ती अधिकारीले भने, ‘अलिकति जोड गरेर अगाडि बढाएको त बजेट मात्रै हो । बजेट त राष्ट्रकै आवश्यकताको कुरा थियो र अगाडि बढाएको हो । बजेट अगाडि नबढाएको भए राष्ट्र नै बर्बादीमा जान्थ्यो । त्यो बाहेक कुनै पनि एजेन्डा अगाडि बढाएको थिएन । राष्ट्रिय महत्वको विषय, दूरगामी महत्वको विषय त त्यसरी अगाडि जान मिल्दैन ।’

एमसीसीलाई लिएर जनतामा भ्रम र अनेक आशंका उब्जिएका छन् । ती विषयमा सभामुखलाई पनि विभिन्न माध्यमबाट जानकारी हुने गरेको ती अधिकारीले बताए । कतिपयले भेटेरै र कतिपयले सञ्चारका विभिन्न माध्यमबाट एमसीसीबारे उठेका प्रश्नको जवाफ नदिईकन पारित गर्ने प्रक्रियामा नलैजान दबाब दिइरहेका छन् । सभामुखले जनतामा उब्जिएका प्रश्नको एमसीसी पास गर्न चाहने राजनीतिक दलहरूलाई प्रष्ट पार्न कुनै असहज नहुने बताएका हुन् ।

‘संसद् सुचारु हुनुपर्‍यो । प्रक्रियासम्मत ढंगले अगाडि बढ्नुपर्‍यो । छलफलको राम्रो वातावरण बन्नुपर्‍यो । जनताले उठाएका प्रश्नहरूलाई स्पष्ट पार्नुपर्‍यो । एमसीसी ठीक छ भने जनताले उठाएका प्रश्नको उत्तर दिन के गाह्रो भयो र ?,’ सभामुख सापकोटाले भनेका कुरा उल्लेख गर्दै उनको सचिवालयले भनेको छ ।

एमसीसीको विषयवस्तुमा आफूलाई केही भन्न आवश्यक नभएको सभामुखले बताउने गरेको उनको सचिवालयका अधिकारीले बताएका छन् । विषयवस्तु के गर्ने भन्ने कुरा राजनीतिक दल, सरकार र सांसदहरूको भएको उनको भनाइ रहेको बताइएको छ ।

सभामुखले पछिल्लो समय आफू निकटहरूलाई भन्ने गरेका छन्, ‘यति ठूलो विषयमा प्रमुख प्रतिपक्षले नारा लगाइरहने र मैले हुन्छ भने हुन्छ भन्नुस्, हुन्न भन्नेले हुन्न भन्नुस् भन्न त मिलेन ।’ एमसीसीमाथि उठेका प्रश्नको जवाफ स्पष्ट नपारी अगाडि बढाएमा आफूलाई पनि अप्ठ्यारो पार्ने सभामुख सापकोटाको बुझाइ छ ।

संसद्को ठूलो दल एमालेले नाराबाजी गरिरहने र त्यसैबीचमा राष्ट्रव्यापी विवादमा रहेको एमसीसी सम्झौता निर्णयार्थ प्रस्तुत गर्न आफूलाई गाह्रो पर्ने सभामुखले बताएको उनको सचिवालयको भनाइ छ । ‘अवरुद्ध भएको बेला नै संसदमा एमसीसी अगाडि बढाउन सकिँदैन भन्नुभएको छ । मैले एमसीसी रोक्ने होइन, प्रक्रियासम्मत ढंगले अगाडि बढ्छु भन्नुभएको छ । होहल्लाका बीच पास हुँदैन भन्नुभएको छ । त्यो गर्न खोजिरहेको भए पनि सकिँदैन,’ उनको सचिवालयका ती अधिकारीले भने ।