पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचकमा ७३.२३ अंकले गिरावट आएको छ। गत साताको अन्तिम कारोबार बिहीबार नेप्से ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा रोकिएको थियो। साताको ५ दिन भएको कारोबारमा ७३.२३ अंकले ओरालो लागेर २ हजार ३७६.७४ विन्दुमा रोकिएको छ। गत साता नेप्से परिसूचकमा निकै ठूलो उतारचढाव आएको छ।
मौद्रिक नीतिको समिक्षापछि १५ दिनदेखि लगातार ओरालो लागेको नेप्सेमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिका कारण धेरै विचलन आएको छ।
गत शनिबार प्रचण्डले एक कार्यक्रममा सेयर बजार साम्राज्यवादको उन्नत रुप भएको टिप्पणी गरेका थिए। उनको उक्त टिप्पणीकै कारण साताको चार दिन बजारले गति लिन सकेन। तर, मंगलबार भने सेयर बजार ६ प्रतिशतले बढ्दा ४० मिनेटको लागि कारोबार नै बन्द भएको थियो।
नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ८८.७० अंकले घटेर २ हजार ३६१.२७ विन्दुमा झरेको थियो। आइतबार ८८.७० अंकले घटेको नेप्से परिसूचक २३ सयको विन्दुमा रोकियो।
त्यस्तै सोमबार ७९.२३ अंकले घटेर नेप्से २ हजार २८२.०१ बिन्दुमा रोकिएको थियो। आइतबार २३ सय बिन्दुमा रोकिएको नेप्से सोमबार २२ सयको बिन्दुमा झरेको थियो। तर, मंगलबार भने नेप्से परिसूचकमा हरियाली छाएको थियो।
प्रचण्डको भाषणपछि घटेको शेयर बजार मंगलबार ६ प्रतिशतले बढेर १ बजेर ३५ मिनेटमा नै कारोबार बन्द भएको थियो। मंगलबार १३७ अंकले बढेको थियो। यसरी नेप्से १३७ अंकले बढेर २ हजार ४१८ अंकमा उक्लिसकेको थियो। उक्त दिन १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। बुधबार भने नेप्से परिसूचक ४.२३ अंकले घटेर २ हजार ४१४.६२ मा ओर्लिएको थियो। त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार पनि ३७.८७ अंकले घटेर २ हजार ३७६.७४ विन्दुमा झरेको छ।
यो साता बजार पुँजीकरणका हिसाबले ५ दिनमा लगानीकर्ताले १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँ सम्पत्ति गुमाएका छन्। पछिल्लो एक सातामा लगानीकर्ताको सम्पत्ति १ खर्ब २ अर्ब ८२ करोड रुपैयाँले घटेर कुल बजार पुँजीकरण ३३ खर्ब ४१ अर्ब ४४ करोड रुर्पैयाँमा संकुचित बनेको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको थियो।
त्यस्तै, प्रचण्डको अभिव्यक्तिका कारण आइतबार र सोमबार दुई दिनमा लगानीकर्ताले २ खर्ब ३६ अर्ब रुपैयाँ गुमाएका थिए। ३४ खर्ब रहेको पुँजीबजार सोमबारको पुँजीकरण ३२ खर्ब ७ अर्बमा आएको थियो।
नेप्से परिसूचकको बजार पुँजीकरण ४५ खर्ब रुपैयाँ पुगेको थियो। तर, पछिल्लो समय निरन्तर रुपमा घट्दै बजार अहिले ३३ खर्बमा सीमित भएको छ। पुँजी करिब ४५ खर्ब रुपैयाँ पुगेको बजारले यो बीचमा करिब १२ खर्ब रुपैयाँ गुमाइसकेको छ। यसरी बजार निरन्तर रुपमा घट्दा सरकारले समेत अर्बौं रुपैयाँको राजस्व गुमाएको छ।
करिब पाँच महिनादेखि सेयर बजार बियरिस ट्रेन्डमा रहेको छ। यसरी वियरिस ट्रेन्डमा रहेको बजारमा पछिल्लो एक सातामा माथिल्लो तहका व्यक्तिहरुको अभिव्यक्तिका कारण बजारमा पहिरो जान साथ दिएको देखिन्छ। नेताहरुले सेयर बजारको विषयमा दिएका अभिव्यक्तिले गर्दा अहिले ४६ लाख सेयर लगानीकर्ता निकै त्रसित बन्दै गएका छन्।