शिक्षक सेवा आयोगको अनलाइनबाट आवेदन दिने यस्तो छ सजिलो तरिका, यस्तो छ नमूना प्रश्न पत्र

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा यसपटकदेखि अनलाइन माध्यमबाट फाराम भर्ने व्यवस्था गरिएको छ। आयोगको कार्यालयमै पुगेर फाराम भर्न समय धेरै लाग्ने भएपछि यसपटकदेखि अनलाइन माध्यमबाट फाराम भर्न मिल्ने व्यवस्था गरेको हो।

आयोगको वेबसाइटको सर्भर ह्याङ नहोस् भन्नका लागि आयोगले फाराम भर्न अर्काे वेबसाइट प्रयोगमा ल्याएको छ। फाराम भर्ने प्रयोजनका लागि आयोगले अनलाइन डट टीएससी डट जीओभी डट एनपी नामको वेबसाइट ल्याएको छ। आयोगले आगामी चैत १५ गते बिहान ११ बजेदेखि सामान्य परीक्षा सञ्चालन गर्ने गरी माध्यमिक तहमा खुलातर्फको विज्ञापन गरिसकेको छ।

आयोगले पहिलो पटक सामान्य परीक्षा उत्तीर्ण हुनेलाई मात्र विषयगत परीक्षामा सामेल हुन पाउने व्यवस्था गरेको छ। एक सय पूर्णाङ्कको समान्य परीक्षामा पचास अंक ल्याउने परीक्षार्थी मात्र उत्तीर्ण हुनेछन्। आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि १ हजार ५४७ सिटमा दरखास्त आह्वान गरिसकेको छ।

आवेदन फाराम भर्न परीक्षार्थीले आवश्यक न्यूनतम शैक्षिक योग्यताको कागजपत्र र अनुहार प्रस्ट देखिने गरी खिचेको तस्बिर स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ।

आयोगको नयाँ अनलाइन खोलेपछि त्यहाँ एकाउन्ट लगइन/रजिस्टर देखाउँछ। लगइन गरेपछि इमेल ठेगाना र पासवर्ड राख्नुपर्ने हुन्छ। त्यसपछि डिजिटको ओटीपी (वान टाइम पासवर्ड) आयोगले पठाउँछ। अनि भेरिफाइ भएको एकाउन्टबाट व्यक्तिगत विवरणदेखि अनुभवसम्मका सबै कुरा त्यहाँ देखिए अनुसार भर्दै जानुपर्छ।

व्यक्तिगत विवरणमा नाम, बीचको नाम, थर, लिंग, जन्ममिति, नागरिकता नम्बर, नागरिकता जारी भएको स्थान, विषय लगायतको विवरण भरेर स्थायी ठेगाना र सम्पर्क ठेगाना प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर लगायत भर्नुपर्ने हुन्छ।

अध्यापन अनुमतिपत्रसम्बन्धी विवरणमा अध्यापन अनुमतिपत्र प्राप्त तह, त्यसको प्रकार, त्यसको क्रम संख्या, अनुमति पत्र प्राप्त गरेको मिति र आयोगले निर्णय गरेको मिति उल्लेख गर्नुपर्छ।

अनुभवको रुपमा यसअघि काम गरेका विद्यालयको विवरण, न्यूनतम शैक्षिक योग्यताको विवरण, तालिम विवरण, कागजात भर्नुपर्ने हुन्छ।

नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातको जेपीजी फर्म्याटमा दुई सय केबीभन्दा कम फोटो साइज बनाउनुपर्छ।

यति विवरण भरेपछि भौचर प्राप्त हुन्छ र त्यसलाई प्रिन्ट गरेर बैंकमा राजस्व तिर्न जानुपर्छ। नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै एक बैंकमा गई राजस्व तिर्न सकिने आयोगले जनाएको छ।

राजस्व तिरेपछि बैंकले महालेखा नियन्त्रणको कार्यालयलाई रकम भुक्तानी गरेको जनाउँ दिन्छ। एउटा समूहका लागि एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ र प्रति थप समूहका लागि छ सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ।

रकम भुक्तानी गरेपछि श्यामश्वेत प्रवेशपत्र प्राप्त हुन्छ। त्यसलाई प्रिन्ट गरेर सुरक्षित राखी परीक्षाका बखत लैजानुपर्छ। परीक्षार्थीले आवेदन फाराम भर्दा सुरुमा राखिएको पासवर्ड भने बिर्सनु हुँदैन। त्यसका आधारमा प्रवेशपत्र प्रिन्ट गर्न सकिन्छ। यसरी प्रिन्ट गरेको प्रवेशपत्रे अन्तर्वार्तासम्मलाई काम लाग्ने भएकाले सुरक्षित राख्न आयोगले सुझाएको छ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्नाका लागि विज्ञापन गरेको हो। परीक्षार्थीले पुस १ गते देखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सक्नेछन् ।

नमूना प्रश्न पत्र हेर्न यहाँ क्लिक गर्नुहोस्।