विश्वप्रकाशका सामू सिटौला लत्रिए, बधाई दिंदै भने- विश्व अब पुराना कुरा बिर्सौ है

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भेटेर आशीर्वाद मागेका छन्। महामन्त्रीमा निर्वाचित भएपछि शर्माले निवासमै पुगेर सिटौलालाई भेटेका हुन्।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतसँग भेटेर आशिर्वाद मागेपछि शर्मा सिटौलाकहाँ पुगेका हुन्। ‘मेरो जिल्लाको पुरानो नेता, मभन्दा सिनियर दाइसँग भेटेर मैले आशीर्वाद माग्नु मेरो कर्तव्य हुन आउँथ्यो,’ महामन्त्री शर्माले भने, ‘मैले शेरबहादुर दाइ, रामचन्द्र दाइलाई पनि भेटेको थिएँ। त्यही क्रममा कृष्ण दाइको आशीर्वाद लिन पुगेको हुँ।’

सिटौलाले फोन गरेरै बधाई दिन खोजेको सुनाएका थिए। तर, फोन व्यस्त हुँदा बधाई दिन नपाएको सिटौलाको भनाइ थियो। विश्वप्रकाशलाई आशीर्वाद दिँदै सिटौलाले पुराना कुरा बिर्सनुपर्ने बताएका थिए। ‘मैले आशीर्वाद मागें, उहाँले हिजोका दिनमा जे भयो त्यसलाई बिर्सौं, तिमी महामन्त्री बन्यौ, अझै अघि बढ्नु, मेरो आशीर्वाद छ भन्नुभयो,’ शर्माले सुनाए।

सिटौला र शर्मा दुवै झापाबासी हुन्। तर, दुई नेताबीचको सम्बन्ध लामो समयदेखि राम्रो थिएन। खासगरी २०५७ सालमा शर्माले नेविसंघको केन्द्रीय अध्यक्षमा दाबी गरेपछि सिटौलाले विरोध गरेका थिए। तर, सिटौलाको विरोधकै बीचमा शर्मा अध्यक्ष बन्न सफल भएका थिए। त्यही बेलादेखि दुई नेताका बीचमा सुरु भएको असमझदारी आजपर्यान्त जारी छ।

झापामा सिटौला–शर्माको प्रतिस्पर्धा देखिँदै आएको छ। भर्खरै सम्पन्न भएको जिल्ला अधिवेशनमा सिटौला र शर्माले आ–आफ्नो प्यानल चुनावी मैदानमा उतारेका थिए। पार्टीको १३औं महाधिवेशनदेखि नै शर्मा सभापति देउवाको समूहमा थिए। १४औं महाधिवेशनको मुखमै देउवा–सिटौला समीकरण बन्न पुग्यो। देउवा समूहबाट महामन्त्रीका दाबेदार रहेका शर्मा सिटौलाको आगमनसँगै संस्थापन समूहबाट पाखा लागे। सिटौलाको जोडबलमा युवा नेता प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाइएपछि शर्मा नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए।

देउवा समूहबाट उम्मेदवार बनेका प्रकाशरण महत र प्रदीप पौडेल दुवै पराजित हुँदा शर्मा भने विजयी बने। शर्माको विजयसँगै केन्द्र र झापाको राजनीतिमा सिटौला कमजोर बनेको विश्लेषण भइरहेका छन्। यद्यपि सभापतिको दोस्रो चरणको निर्वाचनमा सिंहले समर्थन गरेको र सिटौलाको पहिलेदेखि नै देउवालाई समर्थन गरेकाले अहिले शर्मा र सिटौला देउवाकै समूहमा छन्। दुवै नेता एकै समूहमा रहँदा विगतको तिक्तता भुलेर सहकार्य गर्न सक्ने अनुमान कतिपयको छ।