यसरी आविस्कार भयो य:मरि, के-के छन् मान्यता ? कस्तो छ इतिहास ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

काठमाडौं उपत्यकाका नेवार समुदायको सभ्यतामध्ये एक हो य: मरि। कृषिप्रधान नेवा: समाजको सूचक थियो य:मरि। कुनै बेला हामी कसैप्रति निर्भर थिएनौं। किसानी गरेर आफूलाई चाहेको जोहो गर्थ्यौं। अरुसँग माग्नुपर्ने अवस्था नै थिएन। य:मरि त्यही आत्मनिर्भताको आविष्कार हो।

कृषि कर्ममा भुलेको बेला उपत्यकामा पहिला रोटीका नाममा सुख्खा रोटी मात्रै बन्थ्यो। अहिले जस्तो विभिन्न प्रकारका रोटी थिएनन्। पछि आफैँसँग भएका खाद्यान्नको उपयोग गरी नेवारहरुले य:मरिको विकास गरे। त्यसबेला तिलको धुलो, चाकुको झोललाई मिसाएर लतू आकारको चामलको पिठोमा राखेर आधुनिक रोटीको विकास गरियो। यसरी नयाँ प्रकारको रोटी बनाउँदा सबैलाई मिठो लागेको र सबैलाई मनपर्ने भएकोले यसको नाम ‘यगु मरि’ हुँदै हाल ‘य:मरि’ रहन गएको केही संस्कृति अध्येता बताउँछन्।

त्यसैले त पहिला जाडो महिनामा पाक्ने य:मरि आजकल बाह्रै महिना पाक्छ, मिठो भएर।

हराउँदै चलन

‘वा पासा वा वा सकलें वा

छेँखापतिं य:मरि फ्वं वनेवा

त्यःछिं त्यः बक छिं त्यः

लातापाता कुलिंचा जुस्सें त्यः’

नेवार समुदायमा य:मरि पुन्हीका दिन यस्तै गीत गाउँदै य:मरि आदानप्रदान गर्ने प्रचलन रहेको छ।

‘यःमरि च्वामु, उकी दुने हाकु, ब्यूम्ह ल्यासे, मब्यूम्ह बुरीकुति’ भन्दै य:मरि माग्न जाने बेला युवायुवती एक अर्कालाई जिस्क्याउने समेत गर्छन्।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश (पनौती) मा सुचन्द्र महाजन नाम गरेका एक दानी र उनकी श्रीमती बस्थे। वैश्य सम्प्रादयका उनीहरू निकै दयालु थिए। उनीहरुले गरेको दान देखेर कुबेरसम्म आश्चर्यमा परे। एकदिन कुबेरलाई सुचन्द्र दम्पत्तिको दयालुपन जाँच्न मन लागेछ। कुबेरले गरिबको रूप धारण गरी उक्त महाजनको घरमा माग्न पुगेछन्। महाजन दम्पत्तीले कुबेरलाई अन्न, धानलगायत जति सक्दो त्यति दान गरेछन्। यो देखेर कुबेरको मन पग्लेछ।

गरिवको रुपबाट कुबेर आफ्नो वास्तविक रुपमा आउँदै उनीहरुलाई य:मरि बनाएर बिमिरोसँगै ढुकुटीमा राखी चार दिनपछि निकाल्नु भनेछन्। चार दिनपछि हेर्दा य:मरि र बिमिरोहरु सुन भइरहेका रहेछन्। त्यसपछि ती महाजन दम्पत्तिले झन् धेरै दान दिन सुरु गरेछन्।

कुबेर महाजन कहाँ माग्न आएको दिन अर्थात् मंसिर शुक्ल पूर्णिमाको सम्झनामा य:मरि माग्ने प्रचलन सुरु भएको विश्वास गरिन्छ।

तर, सामूहिक रुपमा जम्मा हुँदै ‘य:मरि फ्वेनेगु’ प्रचलन आजकाल हराउँदै गएको छ। विशेष अवसर र समयमा मात्रै बनाइने य:मरि अहिले सबै महिना बन्छ। नेवार समुदायको परिचय बनेको य:मरि व्यवसायिक हुँदै गएकाले पनि य:मरि माग्न जाने चलन विस्तारै कम हुँदै गएको हो। उपत्यकामा केही स्थानमा मात्रै भेला भएर य:मरि साटसाट गर्ने गरिएको देख्न सकिन्छ।

य:मरि माग्न टाढा जाने पनि होइन। आफ्नै दाजुभाइ, छिमेकी कहाँ जाने हो। सबै कामका लागि आफन्त, छिमेकी चाहिन्छ भन्ने मान्यता रहेकाले सबैजना एकै स्थानमा भेला भएर य:मरि बाँड्ने गरिन्थ्यो। सुख दुःखका कुरा हुन्थ्यो। जसकहाँ य:मरि पाक्दैन उसलाई दिन जाने हो। य:मरि माग्दै आफूलाई मनपर्ने मानिस कहाँ गएर प्रेम भाव प्रकट गर्ने हो। य:मरि भाइचारा बढाउने पर्व हो। माग्नुभन्दा पनि यो एक अर्कासँग य:मरि साटासाट गर्ने पर्व हो।

हुन त यसको अर्को भर्सन पनि छ। केही संस्कृतिकर्मीहरुसँगको कुराकानीमा मलाई उनीहरुले नेवारहरुमा माग्ने संस्कार नै नभएको बताएका थिए। य:मरि माग्ने प्रचलनलाई विकृति भन्दै उनीहरुले य:मरि माग्ने गीत बालबच्चाहरुलाई य:मरिबारे बुझाउन र उनीहरुलाई भुलाउन सिर्जना भएको दाबी गरेका थिए। पछि युवायुवतीहरुले ती गीत गाउँदै य:मरि माग्दै हिँडे।

य:मरि एउटा सभ्यता भएको भन्दै उनले य:मरि माग्ने नाममा कसैलाई गाली गर्ने होच्याउने समेत भएकाले त्यसले संस्कृतिमा विकृति ल्याउने उनको मत थियो। त्यसैले त य:मरिका गीत पनि समय अनुसार परिवर्तन हुँदै गए।

काठमाडौं महानगरपालिकाले स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागू गरेसँगै अहिले विद्यालयहरुमा भने य:मरि बनाउने र य:मरि माग्न जाँदा गाउने गीत सिकाउने गरिएको छ। जसबाट य:मरि अबदेखि मनपर्ने रोटीको रुपमा मात्रै नरहने अध्यापन गराइरहेका शिक्षकहरु बताउँछन्।

वस्तु होइन य:मरि

य:मरि पुन्हीका दिन भने यसले विशेष चर्चा पाउँछ। यसदिन य:मरिका स्टलमा मानिस झुमिन्छन्। अरुबेला उपत्यकाका केही रेष्टुराँ र होटलमा य:मरि दिनदिनै बन्छ। सुपर मार्केटमा त ‘रेडिमेड य:मरि’ नै पाइन्छ। य:मरि व्यवसायिक बन्दै गेर्दा त्यससँग जोडिएको मौलिकतामा ह्रास आउन नहुनेमा पनि जोड दिँइदैछ।

य:मरिको व्यवसायीकरणले त्यसलाई जीवन्त बनाउने काम गरेको छ। रेष्टुराँदेखि क्याफेसम्म ‘रेडिमेड य:मरि’ बन्न थालेका छन्। प्राय चाकु, तिल र खुवाको य:मरि बनाइने भएता पनि हाल भने मासु, मास लगायत अन्य पदार्थ राखेर य:मरि बनाउने गरिएको छ। त्यसैले य:मरि बनाउने नाममा य:मरि को स्वरुप, रंग वा त्यसभित्र राखिने पदार्थमा अनावश्यक परिवर्तन कार्यलाई रोक्नुपर्ने आवाज पनि उठेको छ।

हालैमात्रै एक रेष्टुराँले ‘क्रन्ची य:मरि’ को अवधारणा सार्वजनिक गरेको थियो। तर, त्यस कार्यको धेरैले आलोचना गरे। सामाजिक संजालमा य:मरिलाई ‘कमोडिटी’ (वस्तु) का लिनुको सट्टा त्यसको मौलिकता जोगाउन माग गर्नेहरु धेरै थिए।

य:मरि ले एकातर्फ नेवार संस्कृतिलाई विस्तार गरिरहेको छ अर्कोतर्फ य:मरि पुन्ही य:मरि बनाएर खाने र बनाएर बेच्नमा मात्रै सीमित भएको छ।

वास्तवमा य:मरि किनबेच गर्ने वस्तु नै होइन। यो त दान गर्ने खानेकुरा हो। अझै नेवा: समाजमा शुभकार्यमा य:मरिको निकै महत्व छ। छोराछोरी २, ४, ६, ८, १० र १२ वर्षको हुँदा उनीहरुको जन्म वर्ष अनुसार य:मरिको माला लगाइदिने प्रचलन छ। यस्तै, जंकुलगायत अन्य कार्यमा समेत य:मरिको महत्व हुन्छ। यहाँ य:मरिलाघ दीर्घायूको प्रतीकको रुपमा दर्साउन खोजिएको छ। अहिले पनि घर-परिवारमा य:मरि बनाउँदा छुट्टै माहोल सिर्जना हुन्छ।

हाल १२ महिना नै य:मरि बनाउन थालिए पनि य:मरिले शरीरलाई तातो बनाउने हुँदा यसको उपयोगिता चिसो महिनामा बढी हुने गर्छ। गर्मी महिनामा तातोतातो य:मरि खाए त्यसले स्वास्थ्यमा असर पार्न सक्ने जनविश्वास समेत रहेको छ।

वास्तवमा य:मरि बनाउनु भनेको लक्ष्मी भित्र्याउनु हो। खेती गरेर आएको चामलको पिठोबाट य:मरि बनाउनु भनेको लक्ष्मीको आगमन गराउनु हो। आधुनिकीकरणसँगै व्यवसायिक बनेको य:मरिमा आउने परिवर्तनले य:मरि को माग अवश्य बढ्छ। बढाएको छ पनि। तर यो ‘स्वीट डिस’ को मौलिकता भने हराउने सम्भावना रहन्छ।