आरजू म्यामको दर्शन पछि मुख्यसचिव बन्न जाग्यो हुट्-हुटी, बेतोडले बैरागी फ्याँक्न किन चम्किए ?

  • प्रकाशित मिति : २०७८ पुष ४, आईतवार
  • chhanbin.com

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको केही महिना पछि बाटै देउवा पत्नी आरजू राणा संग हिमचिम बढाउँन नेपाल सरकारका सचिवहरूको लिगलिगे दौड शुरु भयो। सचिव रामप्रसाद थपलिया देखि शिशिर कुमार ढुंगाना सम्मका सचिवले आरजू म्यामको दर्शन पाए। त्यहि दर्शनले काम गरेर हुन सक्छ प्रधानमन्त्री कार्यालयका सचिव शिशिर ढुंगाना २० महिनाअघि नै शंकर दास बैरागीलाई हटाएर मुख्य सचिव बन्ने कसरतमा अहिले बेतोडले जुटेका छन्।

२०७७ असोज देखि शंकर दास बैरागी मुख्य सचिव छन्। उनको कार्यकाल सकिन अझै २० महिना बाँकी छ। तर मुख्य सचिव बैरागीलाई राजदूत वा अन्य कुनै नियुक्तीमा पठाएर आफू मुख्य सचिव हुन बरिष्ठ सचिव ढुंगाना सक्रिय भएका हुन्। हाल प्रधानमन्त्री कार्यालयमा रहेका ढुंगानाले मुख्य सचिव बन्न राजनीतिक भेटघाट गरिरहेको उनी निकट एक सचिवले बताए। ढुंगाना मुख्य सचिव बन्न बैरागीले छोड्न तयार हुनुपर्छ, तर अहिले नै राजदूत भएर जान उनले इच्छा देखाएका छैनन्।

बैरागीले राजीनामा नदिएको खण्डमा ढुंगानाको मुख्य सचिव बन्ने प्रयास सफल हुने देखिँदैन। किनकी, ढुंगाना माघ २० गते निजामति सेवाबाट निवृत्त हुँदैछन्। प्रशासन सेवाका सचिवमध्ये ढुंगाना अहिले बरिष्ठताका आधारमा दोश्रो नम्बरमा छन्। उनी २०७३ माघ २० मा सचिवमा बढुवा भएका थिए।

बरिष्ठताका आधारमा रक्षा मन्त्रालयमा रहेका सचिव वेगेन्द्रराज शर्मा पौड्याल अहिले पहिलो नम्बरमा छन्। उनले यही पुस १४ गते अवकाश पाउँदैछन्। पौड्याल भने मुख्य सचिव बन्ने कसरतमा छैनन्।

ढुंगानाले प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सरकारका प्रभावशाली मन्त्रीहरूसँग पटक—पटक भेटेर आफूलाई मुख्य सचिव बनाइदिन अनुरोध गर्दै आएका छन्।

प्रधानमन्त्री कार्यालयका एक सहसचिवका अनुशार डेढ महिनाअघि भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेकै बखत मुख्य सचिव बैरागीलाई राजदूत बन्न ‘अफर’ गरिएको थियो। तर उनले इच्छा देखाएनन्।

सरकारले अहिले २० मुलुकका राजदूत सिफारिस गर्न गृहकार्य अघि बढाएकाले मुख्य सचिव बैरागीलाई राजदूत बन्न फेरि अफर गर्न लागिएको छ।

‘बैरागीलाई मुख्य सचिवबाट राजीनामा गर्न लगाउनुभन्दा ढुंगानालाई नै जापान वा अन्य कुनै मुलुकमा राजदूत बन्न राजनीतिक तहबाट आग्रह हुन पनि सक्छ’, ती सहसचिव भन्छन्, ‘तर ढुंगाना सकेसम्म बैरागीलाई राजदूत बनाएर आफू मुख्य सचिव हुन जोडबल गरिरहेका छन्।’