कांग्रेस केन्द्रीय सदस्यका लागि भइरहेको मतगणनामा शशांक अगाडी, कसको मत कति ?

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यका लागि भइरहेको मतगणनामा डा. शशांक कोइरालाले शुरूवाती अग्रता लिएका छन्।

६५ मत गणनामा कोइराला ५९ मतसहित अगाडि छन्। प्रारम्भिक मतगणनामा अजयबाबु शिवाकोटीले ३२, अर्जुननरसिंह केसीले ४८, उदयशमशेर राणा ४१, एनपी साउदले ४६ मत ल्याएका छन्। यस्तै कुन्दन काफ्लेले ३७, केदार कार्कीले २५, गणेश लामाले २६, गुरू बरालले ३६, गोपालमान श्रेष्ठले ३८, गोविन्द भट्टराईले ३७ र गोविन्द पोखरेलले ३० मत ल्याएका छन्। जितजंग बस्नेतले ३९, जिपछिरिङ लामाले ३६, दिनेश कोइरालाले ३२, तीर्थ खनियाले ३०, दीपक गिरीले ४०, दीपक कँडेलले ३०, दिलेन्द्र बडुले ३९, नैनसिंह महरले ४१, पद्मनारायण चौधरीले ३०, बलबहादुर केसीले ३३ र बालकृष्ण खाँणले ४६ मत ल्याएका छन्। मदन अमात्यले २५, मोहन बस्नेतले ३६, रमेश लेखकले ४३, रामशरण महतले ४६, रामहरि खतिवडाले ४५, शंकर भण्डारीले ४६, सुनिल थापाले ३७, सुरेन्द्र पाण्डेले ३६ र ज्ञानेन्द्र कार्कीले ४२ मत ल्याएका छन्।

कांग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार छन्। यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना सम्पन्न भइसकेको छ। मतगणनाको परिणाम आज रातिसम्ममा सार्वजनिक गरिसक्ने तयारी निर्वाचन समितिले गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए। कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि (मतदाता) ४ हजार ७४३ रहेका छन्। केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ कलस्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएका क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानमा उल्लेख छ। जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ।