यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्ने स्थिति छैन : एमाले उपाध्यक्ष पौडेल

  • प्रकाशित मिति : २०७८ पुष ३, शनिबार
  • chhanbin.com

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता पक्ष र सभामुखले संसद्लाई नौटंकीमा बस्ने चेष्टा गरेको बताएका छन्। शनिबार आयोजित एमालेनिकट राष्ट्रिय वाणिज्य महासंघको कार्यक्रममा सम्बोधन गर्दै उनले यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न नसक्ने बताए।

‘संसद्‌भित्र मन्त्रीहरु आफ्नो कुर्सीमा बस्न सक्दैनन्। उनीहरु लुकेर गएर रोस्ट्रममा प्रस्ताव प्रस्तुत गरेर होहल्लाका बीचमा, नाराबाजीका बीचमा, वेल घेराउ भइरहेकै अवस्थामा पास भयो, पास भयो सभामुखले सुनाइदिने, यसखालको संसद्लाई एउटा नौटंकीमा बदल्ने खालको चेष्टा सत्ता पक्षले गरेको छ। सभामुखले गरेका छन्’, पौडेलले भने, ‘यसले के देखाएको छ भने, यो संसद्‌बाट अब मुलुकले कुनै राम्रो अपेक्षा गर्न सक्ने स्थिति छैन।’

ताजा जनादेशमा जानु आवश्यक छ भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस सही रहेको भनेर घटनाक्रमले पुष्टि गरेको पौडेलको भनाइ छ।

उनले अहिले सभामुख निष्पक्ष भूमिकामा नरहेको बताए। ‘सभामुखमा कोही पनि व्यक्ति निर्वाचित भइसकेपछि उसले दलको सदस्यता परित्याग गर्छन्। ऊ स्वतन्त्र हुन्छ। ऊ निष्पक्ष हुन्छ। उसले मेरो दल र तेरो दल भन्दैन। तटस्थ र निष्पक्ष भूमिकामा रहेर सदनको नेतृत्व गर्छ’, उनले भने, ‘तर, हाम्रो सभामुख के छन् अहिले? सभामुख दल विशेषको कार्यकर्ताको हैसियतले, संविधान र कानुनका व्यवस्थाहरुलाई उल्लंघन गरेर नेकपा एमालेजस्तो राजनीतिक दललाई विभाजित गर्नका निम्ति सभामुख जस्तो पदको दुरुपयोग गरेर, पदीय हैसियतको दुरुपयोग गरेर नांगो ढंगले, निर्वस्त्र भएर उनी उभिएका छन्।’

पौडेलले संविधानसम्मत नचल्ने सभामुखलाई सभामुख मानेर आफूहरु अगाडि बढ्न नसक्ने र सदनलाई अगाडि बढ्न दिन नसक्ने बताए।

‘या त सभामुखले आफ्नो गल्ती महसुस गर्नुपर्‍यो। आफूलाई सच्याउनुपर्‍यो। नेकपा एमालेले संविधानसम्मत ढंगले आफ्नो दलका सदस्यलाई कारबाही गरेको र निष्कासन गरेको सिफारिस कार्यान्वयन हुनुपर्‍यो’, उनले भने, ‘या त सभामुखले पदमुक्त हुनुपर्‍यो। अन्य अवस्थामा यो सदन चल्न सक्दैन भनेर हामीले अडान लिनुपर्ने स्थिति सिर्जना भएको छ।’