एमसीसीलाई वारपार लगाउन प्रधानमन्त्रीले सर्बदलीय बैठक डाक्ने, सबैका कुरा त्यही राख्ने

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को जारी अधिवेशन सञ्चालन, एमसीसीलगायत समसामयिक विषयमा परामर्श गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितकाे सर्वदलीय बैठक बाेलाउने तयारी गरेकाे छन्।

आज सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न विषयमा छलफल भएकाे थियाे।

सडक, ऊर्जालगायत मुलुकको भौतिक पूर्वाधार विकासमा अनुदानस्वरुप अमेरिकाबाट प्राप्त हुने रु ५५ अर्बभन्दा बढीको एमसीसी सहयोगलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ।

देउवाले आजै सर्वदलीय बैठकबारे सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट्दै छन्। अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक बाेलाउने तयारी भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।