मंसिरमा कसरी बढ्यो ह्वात्तै घरजग्गा कारोबार ? जग्गा धेरै किनबेच भएका यी हुन् १० ठाउँ

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

असोज र कात्तिकमा सुस्त भएको घरजग्गा कारोबारले मंसिरमा गति लिएको छ । बैंकिङ प्रणालीमा तरलता अभावका कारण सहजै ऋण पाउने अवस्था नभए पनि मंसिरका घरजग्गाको कारोबार बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबार (किनबेच, नामसारी, रोक्का, फुकुवा लगायत) संख्या ३५ हजारले बढेको छ । कात्तिकमा कुल १ लाख ३४ हजार कारोबार भएकोमा मंसिरमा बढेर १ लाख ६९ हजार ८०० वटा पुगेको छ ।

कुल कारोबार बढेसँगै मंसिरमा घरजग्गाको किनबेच पनि बढेको छ । कात्तिकमा देशभर कुल ५० हजार ८३ वटा घरजग्गा किनबेच भएकोमा मंसिरमा बढेर ६९ हजार ४१२ वटा किनबेच भएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको असोजमा १ लाख ६८ हजार घरजग्गा कारोबार भएको थियो भने भदौमा सबैभन्दा धेरै २ लाख ३६ हजार कारोबार भएको थियो । त्यस्तै, साउनमा १ लाख ६८ हजार घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । सोमध्ये साउनमा ७५ हजार, भदौमा ७० हजार र असोजमा ५९ हजार घरजग्गा खरिदविक्री भएका छन् ।

विभागका अनुसार चालु वर्षको ५ महिनामा कुल ८ लाख ६६ हजार ६४३ वटा घरजग्गा सम्बन्धी कारोबार भएको छ । सोमध्ये ३ लाख २४ हजार २२९ वटा किनबेच भएको विभागले जनाएको छ ।

ललितपुर मालपोत कार्यालयका प्रमुख विष्णु गौतमले असोज र कात्तिकमा चाडपर्वका कारण हुन नसकेका काम मंसिरमा हुँदा कारोबार बढेको बताए । ‘असोज/कात्तिकमा चाडपर्वका कारण मालपोत कार्यालयहरुमा घरजग्गा सम्बन्धी धेरै काम भएको थिएन,’ उनले भने, ‘ चाडवाड सकिएसँगै मानिसहरु धमाधम घरजग्गाको काम गर्न मालपात धाउन थाले । यसले गर्दा कारोबार बढेको हो ।’

बैंकबाट सहजै ऋण पाउने अवस्था नभएपनि दशैं, तिहारमा व्यापार गरेर पैसा कमाएकाहरुले घरजग्गा खरिद गर्दा कारोबार बढेको व्यवसायीहरु बताउँछन् । साथै, पछिल्लो समय कोरोना प्रभाव कम भई आर्थिक गतिविधि चलायनमान हुँदा मानिसको आर्थिक स्थिति सुधार भएकाले पनि घरजग्गाको कारोबार बढेको उनीहरुको भनाइ छ ।

आर्थिक दृष्टिकोणले घरजग्गा कारोबारमा गरिएको लगानी अनुत्पादक मानिन्छ तर यही व्यवसायको कारोबार भने बढ्दै गएको छ । घरजग्गामा लगानी गर्दा छोटो समयमै नाफा कमाउन सकिने र तुलनात्मक रुपमा अन्य क्षेत्रकोेभन्दा लगानी सुरक्षित हुने भएकाले घरजग्गाको कारोबार बढेको व्यवसायीहरु बताउँछन् ।

बैंक तथा वित्तीय संस्थाहरुले पनि पछिल्लो समय रियल स्टेटमा लगानी बढाएका छन् । जसको कारण घरजग्गा कारोबार बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा तथा रियलस्टेटमा ४ खर्ब २८ अर्ब लगानी गरेका छन् ।

चालु आवको ५ महिनामा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्व गत वर्षको तुलनामा दोब्बरभन्दा धेरैले बढेको छ । विभागका अनुसार मंसिर मसान्तसम्म घरजग्गा कारोबार बापत कुल ३६ अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत वर्ष सोही अवधिको तुलनामा १८ अर्ब ७५ करोड रुपैयाँले बढी हो । गत वर्ष मंसिर मसान्तसम्म घरजग्गा कारोबारबापत १७ अर्ब ५२ करोड राजस्व संकलन भएको थियो । चालु वर्ष घरजग्गाको कारोबार बेढेसँगै राजस्व संकलन पनि बढेको हो ।

चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

मंसिरमा देशभरका मालपोत कार्यालयबाट ६९ हजार ४१२ वटा घरजग्गा किनबेच भएका छन् । सोमध्ये मोरङको बेलवारी मालपोत कार्यालयबाट सबैभन्दा धेरै ३ हजार ८७ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।

मंसिरमा धेरै घरजग्गा किनबेच हुने मालपोत कार्यालयहरु क्रमशः सुनसरीको इनरुवा मालपोत ३ हजार ४१ वटा, भद्रपुर झापाबाट २५८८, बाँकेको नेपालगञ्जबाट २४५४, भक्तपुर मालपोत २१४७, ललितपुर मालपोत र धनुषाको जनकपुरबाट २०४३, काभ्रेपलान्चोक र काठमाडौंको कलंकी मालपोत कार्यालयबाट १७०० घरजग्गा किनबेच भएका छन् ।

मंसिरमा देशभरका १२८ मालपोतमध्ये १० वटा कार्यालयबाट घरजग्गा सम्बन्धी अन्य कारोबार भए पनि किनबेच भने भएको छैन । विभागका अनुसार मंसिरमा कैलालीको धनगढी, रुपन्देहीको बुटवल, सिन्धुली, डोटी, कपिलवस्तु, सर्लाहीको बलारा, सिर्दिवार्स, मनाङ र बझाङको झोता मालपोत कार्यालयबाट एउटा पनि घरजग्गा किनबेच भएको छैन ।