सुरूआती अग्रता जोगाउन नसक्दा आर्मी ए डिभिजन लिगमा बराबरीमा रोकियो

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

सुरूआती अग्रता जोगान नसक्दा साविकको उपविजेता विभागीय त्रिभुवन आर्मी फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा आर्मी सातदोबाटोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।सुरूआती समयबाटै आक्रमक खेल पस्किएको आर्मीले १०औं मिनेटमा नै अग्रता लिएको थियो।

टेकबहादुर बुढाथोकीको क्रसमा कप्तान जर्जप्रिन्स कार्कीले फ्लिक गरेको बलमा पिटर सेगुन पनि बिट हुँदा अनमार्क रहेका दिनेश हेन्जनले सहजै गोल गरेका थिए।

१६औं मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। गोलरक्षक अभिषेक बरालको लामो पासलाई मार्टिन्सले पेनाल्टी बक्समा नियन्त्रणमा लिँदै डिफेन्डर बिमल पाण्डेलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।

२१औं मिनेटमा टेकको क्रसलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए पनि पिटर सेगुनको कमजोर क्लियरेन्सलाई सन्तोष तामाङको ओभरहेड किक गरेका थिए। तर, गोलरक्षक अभिषेकले सहजै नियन्त्रणमा लिए।

६६औं मिनेटमा कप्तान मानबहादुर तामाङको पासमा आदित्य शाक्यको फ्रि हेडर गोलरक्षक बिकेश कुथुले सहजै बचाए ।

बराबरीसँगै अपराजित रहेको आर्मीको ५ खेलबाट ९ अक पुगेको छ। आर्मी अंक तालिकाको तेस्रो स्थानमा यथावत् छ। सातदोबाटोको ५ खेलबाट ८ अंक पुगेको छ।

सातदोबाटो चौथो स्थानमा उक्लिएको छ। समान ४ खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लब १०–१० अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।