तरकारी बेचेरै १५ लाख कमाउने स्कूलको निरीक्षण गर्न हान्निएर किन पुगे शिक्षा मन्त्री ?

  • प्रकाशित मिति : २०७८ पुष २, शुक्रबार
  • chhanbin.com

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सीपसहितको शिक्षा प्रदान गर्ने सामुदायिक विद्यालय बूढानिलकण्ठ माध्यमिक विद्यालयको अनुगमन गरेका छन्।

सरकारले पढ्दै कमाउँदै कार्यक्रम लागु गर्ने तयारी गरिरहेका बेला विद्यालयले भने तरकारी बेचेरै १५ लाख आम्दानि भएको जनाएको हो। विद्यालयले साग,गोलभेडा, स्याउ, आरु, अलैचीजस्ता कृषिजन्य उत्पादनमा विद्यार्थीहरुलाई विशेष जोड दिँदै आएको छ। विभिन्‍न मौसमका बिरुवाहरु लगाउन विद्यालयले ‘ड्याङ’ खनेर तयार पनि पारिसकेको छ।

पाँचदेखि १२ कक्षा सञ्‍चालन गरेको बूढानिलकण्ठ माविमा एक हजार १ सय ३५ विद्यार्थी अध्ययनरत छन्। उनीहरुले विद्यालयको करेशाबारीमा काम गर्ने गरेका छन्। सरकारले ल्याएको ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु गर्ने चरणमा रहेका बेला विद्यालयले गरेको कामको शिक्षामन्त्री देवेन्द्र पौडेलले प्रशंसा गरेका छन्। विद्यार्थी र शिक्षकका लागि होस्टेलको व्यवस्था भएको विद्यालयमा आईटी, विज्ञान, कृषि लगायतका विषयमा प्रयोगात्मक रुपमै अध्यापन हुँन्छ।

‘सिक्दै, सिकाउँदै, रमाउँदै कमाउँदै’ भन्ने नाराका साथ विद्यालयले विद्यार्थीलाई जीवन उपयोगी शिक्षासहित अध्ययन गराइरहेको छ। देशकै उत्कृष्ट नतिजा ल्याउने दाबी गरेको विद्यालयले डा. महाविर पुनको सहयोगमा विज्ञान प्रयोगशालामार्फत रोबट बनाउने काममा अनुसन्धान गरिरहेको छ।

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि आफ्नो पहिलो प्राथमिकता रहेको रहेकाले विद्यालयले निर्बाहमुखी कृषि प्रणालीभन्दा वैज्ञानिक कृषि प्रणालीमा आधारित रहेर प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताए।

उनले भने, ‘विद्यालयको शैक्षिक गतिविधि राम्रो गरेको छ। यस्तो गतिविधीलाई सरकारले प्रोत्साहन गर्छ।उत्पादनलाई बढाएर बजारीकरण हुने गरी काम गर्नुहोस्। बूढानिलकण्ठका विद्यार्थीले गरेको मिहेनत अन्य विद्यालयका विद्यार्थीकालागि मार्गचित्र बन्न सक्छ।’

सहरबजारमा जमिनको अभाव भएकोकाले भएको जमिनलाई व्यवस्थित गरि सिक्दै कमाउँदै कार्यक्रमलाई उदाहरणको रुपमा देखाउन मन्त्रीले सुझाव दिएका छन्। विद्यालयका प्रध्यानध्यापक होमनाथ आचार्यले विद्यालयले उत्पादन गरेको तरकारी बजारीकरण गरेर आम्दानी गर्न थालेको बताए।

उनले भने, ‘११ सय ३५ विद्यार्थीलाई तरकारी बाहिरबाट ल्याउन पर्दैन। तरकारी खेतीबाट पहिलो सिजनमा १५ लाख आम्दानी गर्न सफलभएका छौं।’ उनका अनुसार विद्यालयले लोकल जातको बिरुवा उत्पादन गरी अध्ययन अनुसन्धानका लागि आउने अनुसन्धानकर्ता फिल्डमा आएर अवलोकन गर्न पाउनेछन्।