नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको उम्मेदवारहरूको मतगणना बिहीबार नै सुरु हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बिहीबार दिउँसो साढे ४ बजे सहमहामन्त्रीका उम्मेदवारको मतगणना सुरु हुने जानकारी दिएको हो।
निर्वाचन समितिले गणनाका लागि सबै तयारी पूरा भएको छ। समितिले सहमहामन्त्रीहरूको मत नतिजा पनि आजै सार्वजनिक गर्ने तयारी गरेको छ। कांग्रेस विधानमा ८ जना सहमहामन्त्री चयन हुने व्यवस्था छ।
महिला कोटामा कमला पन्त र महालक्ष्मी उपाध्याय डिना उम्मेदवार छन्। दलित कोटामा गंगा सुनार, जीवन परियार र मानबहादुर विश्वकर्मा छन्। यस्तै आदिवासी जनजातितर्फ विकास लामा र भीष्मराज आङ्देम्बे चुनावी मैदानमा छन्।
यस्तै खस आर्य कोटामा किशोरसिंह राठौर र देवराज चालिसे उम्मेदवार छन्। यस्तै मधेशी कोटाका सहमहामन्त्रीका लागि महेन्द्र राय यादव, रञ्जीत कर्ण र रामकृष्ण यादव उम्मेदवार छन्। मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर र शेख वकिल उम्मेदवार छन्। थारुतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरीका साथै पिछडिएको क्षेत्रबाट चेतराज बजाल, जीवनबहादुर शाही र बद्री पाण्डे चुनावी मैदानमा छन्।
यसअघि कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदको नतिजा सार्वजनिक भइसकेको छ। शेरबहादुर देउवा सभापतिमा दोहोरिएका छन् भने उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र शेखर कोइराला प्यानलका धनराज गुरुङ विजयी भएका छन्।
महामन्त्रीमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। थापा शेखर प्यानलका उम्मेदवार बनेका थिए भने शर्मा प्रकाशमान सिंहको समूहबाट उम्मेदवार बनेका थिए।