तपाईंहरूका घरदैलोमा आइरहन्छु, कुण्ठा पाल्दिन भन्दै शेखरले यसरी पोखे तितो

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेपाली कांग्रेसको सभापतिमा पराजित डा शेखर कोइरालाले आफूले हारेपनि कुनै पनि कुन्ठा नभएको बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिनका लागि आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘पार्टीमा बेथिति भए सशक्त रुपमा प्रस्तुत हुन्छौँ। मेरो हारलाई स्वाभाविक रूपमा लिएको छु। कुनै कुन्ठा छैन,’ उनले भने, ‘पराजयमा पनि राम्रो कुरा के देखेँ भने हामीले लिएको कदम विजयी भएको छ। त्यसकारण पनि हामी विजयी भएको मलाई लागेको छ। हाम्रा एजेन्डा स्थापित भएका छन्।’

आफूहरूले युवाका लागि अवसरै अवसर खोलिदिएको पनि उनले बताएका थिए। ‘म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्ने छ भनेर विश्वास लिएको छु। निरन्तर रुपमा तपाईंहरूको घरदैलोमा पुग्नेछु। टिमका साथीहरू पनि पुग्नुहुन्छ,’ उनले भने।

आफूहरू भागबन्डा र गुटबन्दीमा नलाग्ने तर काम गर्न नछोड्ने उनको भनाइ थियो। ‘राम्रो काम गरेर उहाँ (अन्य पक्ष)हरुलाई सोच्न बाध्य बनाउँछौँ,’ कोइरालाले भने।

वडादेखि संघर्ष गर्दै महाधिवेशन प्रतिनिधि बनेका र आफू मत दिएकाहरूलाई कहिल्यै नबिर्सन उनले बताएका थिए। ‘यही मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु,’ उनले मन्तव्य टुग्याए।