प्रचण्ड र माधव भन्दा ठुलो विदेश दलाल अरू कोही छैन भन्दै कुर्लिए ओली, खोले यस्ता पोलै-पोल

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विदेशी शक्तिले नियन्त्रित अस्थिरताका लागि काम गरिरहेको बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित मनोनियत केन्द्रीय सदस्यहरूको बुधबार शपथग्रहण कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल त्यसको संवाहक भएको उनको आरोप थियो । ‘अस्थिरता मच्चाउन खोज्ने शक्ति सक्रिय रहेका छन् । नियन्त्रित अस्थिरता हाम्रो नीति हो भनेर भनिएको थियो’ ओलीले भने ‘त्यसका लागि अस्थिरताका सम्बाहक शक्ति नेपालमा छन् । सबैभन्दा चर्को गरी चल्ने प्रचण्ड एन्ड माकुने एन्ड कम्पनी । संवाहक तत्वहरू यिनैहरू हुन् ।’

ओलीले अब दाहाल र नेपालसँग एकीकरण सम्भवना नभएको पनि ठोकुवा गरे । ‘हामीले राम्रोसँग चिनेका छौं उनीहरूको कहाँबाट स्वीच अन अफ हुन्छ हामीले छर्लाङै देखेका छौं । महान जनयुद्ध भनेर भनियो । हतियार कहाँबाट ल्याइयो । त्यो खोजिएन,’ ओलीले भने ।

माओवादी केन्द्रको तत्कालीन सशस्त्र युद्धबारे उनले त्यसलाई ‘जनयुद्ध’ नभएर ‘अस्थिरता’ भएको टिप्पणी गरेका थिए । त्यसलाई उनले अस्तव्यस्त बनाउने विधिको रुपमा पनि अर्थ्याएका थिए ।

नेता ओलीले यसअघि पनि विदेशी शक्तिबाट नेपालमा नियन्त्रित अस्थिरता निम्त्याउन खोजेको प्रतिक्रिया दिएका थिए । उनले नेपालका लागि पूर्वभारतीय राजदूत रन्जित रेको हालै प्रकाशित पुस्तकलाई लक्षित गर्दै विदेशी शक्तिले एमालेको विषयमा गलत प्रचार गरेको जिकिर गरेका थिए ।