मुटुमा माया छ भनिन्छ, मुटुमा माया होइन, मष्तिष्कमा हुन्छ भन्दै ओलीले सुनाए यस्तो पुराण

  • प्रकाशित मिति : २०७८ मंसिर २९, बुधबार
  • chhanbin.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सबैलाई न्याय भइरहेको जिकिर गरेका छन्

पार्टीका मनोनित केन्द्रीय सदस्यको शपथ ग्रहणका लागि च्यासलमा बुधवार आयोजित कार्यक्रममा ओलीले सबैलाई न्याय भइरहे पनि कसैलाई न्याय भएन भन्ने लागेको हुनसक्ने बताए ।

‘न्याय भइराख्या हुन्छ, मान्छेलाई न्याय भएन भन्ने लाग्न सक्छ,’ ओलीले भने, ‘चित्त छ, त्यसैकारण बुझ्दैन होला । चित्त भन्ने चिज न छाम्दा भेटिन्छ, न इन्डोस्कोपी गर्दा भेटिन्छ, फेरि चित्तले भाँडभैलो मच्चाउँछ ।’

उनले चित्त भनेको मष्तिष्क नै भएको भन्दै लामो पुराण नै सुनाए । त्यसपछि ओलीले कवि कलाकारलाई लक्षित गर्दै मायाको सन्दर्भमा भाषण समेत दिए ।

‘मुटुमा माया छ भनिन्छ, मुटुमा माया होइन, मष्तिष्कमा हुन्छ । कलेजीमा माया हुँदैन । कविहरूले यस्तो बनाए कि मायाको यहाँ एउटा पोको छ, यहाँ एउटा पोको छ,’ छातीतर्फ हातले संकेत गर्दै ओलीले भने ।

पार्टीको पुरानो समीकरणमा माधव नेपाल पक्षमा रहेका नेताहरूलाई उचित जिम्मेवारी नदिएको र अन्याय गरेको भन्ने असन्तुष्टिका सन्दर्भमा ओलीले सांकेतिक जवाफ दिएका हुन् ।