नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको दोस्रो चरणको मतदान सुरु भएको छ। सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनःनिर्वाचन भइरहेको हो।
निर्वाचन साँझ साढे सात बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ। पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरे। सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरे।
काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन्। यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गरेका छन्।
सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए। मतदानमा कूल ७६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ। विधान अनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ। यसैबीच सभापतिमा पहिलो चरणबाट बाहिएका निधि, सिंह र गुरुङले देउवालाई समर्थन गर्ने जनाएका छन्।