१३७.१८ अंक बढेर नेप्से बन्द हुँदा शेयर बजारमा कुन कम्पनीमा कस्तो आयो उछाल ?

  • प्रकाशित मिति : २०७८ मंसिर २८, मंगलवार
  • chhanbin.com

ठिक दिनपछि बन्द हुने शेयर बजार मंगलबार करिब एक बजेर २६ मिनेटमै बन्द भयो। कारण थियो, नेप्से ६.१ प्रतिशतले बढ्नु। अघिल्लो दिनको भन्दा १३७.१८ अंकले बढेपछि नेप्सेको मंगलबारको कारोबार नै बन्द भएको थियो। त्यसअघि पनि कारोबार सुरु भएको डेढ घण्टामा नेप्से ५ प्रतिशतभन्दा बढीले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको थियो।

साताको सुरुका दुई दिनमा मात्र एक सय ६८ अंकले घटेको नेप्से मंगलबार एकाएक उकालो लागेको हो। शेयर बजारलाई लिएर जिम्मेवार नेताहरुले दिएको अभिव्यक्ति आलोचित बनेपछि त्यसको असर शेयर बजारमा परिसूचकमा देखिएको हो।

मंगलबार ४३ कम्पनीको शेयर मुल्य १० प्रतिशतले र ३ कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भएको छ। एक दिनमा शेयर मुल्य १० प्रतिशतसम्म बढ्न वा घट्न सक्ने हुन्छ। मंगलबार अन्य २४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। १४ कम्पनीको शेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। २५ कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ।

४० लाख ८५ हजार ९ सय ५६ कित्ता शेयर खरिद विक्री हुँदा एक अर्ब ८४ करोड २६ लाख ४७ हजार एक सय ४४ रुपैयाँको कारोबार भएको छ। नेसनल हाइड्रो पावर, जलविद्युत विकास कम्पनी, युनाइटेड मोदी हाइड्रो, आईसीएफसी फाइनान्स, हिमाल दोलखा हाइड्रो पावरसहितका कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो।

उपसमूहको परिसूचकअन्तर्गत ट्रेडिङ र फाइनान्सको ८ प्रतिशतभन्दा बढीले, हाइड्रो पावर र अन्य समूहको ७ प्रतिशतभन्दा बढीले, माइक्रो फाइनान्स, फाइनान्स, नन लाइफ इन्सुरेन्स र होटल एन्ड टुरिजमको ६ प्रतिशतभन्दा बढीले, विकाश बैंकको ९ प्रतिशतभन्दा बढीले र लाइफ इन्सुरेन्सको ५ प्रतिशतभन्दा बढीले परिसूचक बढेको छ।