आफूले खटाएका दूतले प्रकाशमान पगाल्न नसकेपछि देउवाले सिंह फकाउन ओलीको लिए सहारा

  • प्रकाशित मिति : २०७८ मंसिर २८, मंगलवार
  • chhanbin.com

पहिलो चरणमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि तनावमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहानैदेखि दौडधूपमा थिए।
पहिलो चरणको मतपरिणाम आफ्नो पक्षमा नआउने बुझेपछि मंगलबार सबेरै बिहान आफ्ना केही विश्वासपात्रलाई परिचालित गरिसकेका थिए।

परिचालित ती विश्वासपात्रमध्ये दुई थिए गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर। उनीहरुको काम थियो, पहिलो चरणको सभापतिको प्रतिस्पर्धामा तेस्रो र चौथो भोट ल्याउने प्रकाशमान सिंह र विमलेन्द्र निधिलाई फकाउने।

उनीहरु त्यही योजना अनुसार सबैभन्दा पहिले सिंह निवास चाक्सीबारी पुगेका थिए। जहाँ दुवै नेताले सिंहलाई फकाउने सक्दो प्रयास गरे। तर देउवाले यसअघि आफूहरू इतर समूहमा हुँदा बहुतै पेलेर दु:ख दिएको भन्दै अनेक गुनासो गरे।

देउवा एकलौटी चल्छन्, विधान मान्दैनन्। विधान अनुसार चल्नु भन्दा मान्दैनन्’, उनले गुनासो गर्दै भने, ‘यसअघि पनि देउवासँग काम गरेकै हो। तर फेरि पुरानै व्यवहार देखाउँछन् र दु:ख दिन्छन्।’ तर इतर समूहमा पनि विद्रोह गरेर सभापतिमा ३७१ भोट ल्याएका प्रकाशमानलाई देउवाका दुई विश्वासपात्रले मनाउन सकेनन्।

उनले आफ्नो समूहमा छलफल गरेपछि मात्रै कसलाई सघाउने भन्ने ठोस निर्णय लिने जवाफ दुई नेतालाई दिएर चाक्सीबारीबाट पठाइदिए। प्रकाशमानसँगको छलफल र उनले दिएको उत्तरसहितको सन्देश बोकेर दुई नेता तत्कालै बालुवाटार पुगे। प्रकाशमानले सघाउन सक्ने सम्भावनासहितको सन्देश दुई नेताले ल्याएपछि देउवा चाक्सीबारी जान तयार भए। आफूबारे प्रकाशमानले गरेको गुनासो सुनेपछि शेखरविरुद्ध सहज जित निकाल्न जुटेका देउवाले विगतका गल्ती सुधार्ने वाचा पनि चाक्सीबारी पुगेर गरे।

बलायर र खाँणले बालुवाटारमा लगेर बिसाएका गुनासाका पोकालाई चाक्सीबारीमा आए सम्बोधन क्रममा उनले पार्टीलाई विधान अनुसार चलाउने, सल्लाह गरेर अघि बढ्नेसहितका अनेक वाचा गरे।

‘अब म पार्टीमा एकलौटी गर्दिनँ, विधान अनुसार चल्छु, सबैसँग मिलेर अगाडि बढ्छु’, चाक्सीबारीमा देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘हिजोका गल्तीलाई सुधारे जान सकिन्छ। त्यसैले यो पटक मलाई सघाएर जानुस्।’

देउवाले प्रकाशमानसँग पनि महाधिवेशनमा कार्यकर्तामाझ गरिरहेको भाषणलाई दोहोर्‍याए। ‘अब देशमा चुनाव आउँदैछ। मैले सभापतिमा हारेँ भने नैतिकताले पनि प्रधानमन्त्री भइरहन, बसिरहन मिल्दैन। मलाई सजिलो पनि हुँदैन’, चाक्सीबारी पुगेका गृहमन्त्री खाँणनिकट स्रोतले भन्यो, ‘मलाई सघाएर जानु भयो भने पार्टी पनि बलियो हुन्छ। आगामी चुनावमा मिलेर जित्न पनि सकिन्छ।’

उनले प्रकाशमानलाई मनाउन एमाले अध्यक्ष केपी शर्मा ओली कार्ड पनि प्रयोग गरे। त्यही कार्ड उनले महाधिवेशन उद्घाटनका क्रममा पनि प्रयोग गर्दै आफूले हारे ओली सत्तामा आएर तानाशाही शासन चलाउने डर देखाएका थिए।

उनले आफूले सभापतिमा हारेर सरकारबाट हटेमा फेरि ओली नै सत्तामा फर्किने त्रास पनि प्रकाशमानलाई देखाए।

‘मैले सभापतिमा हारेमा प्रधानमन्त्रीबाट बाहिरिने अवस्थामा आउँछ। त्यसो हुँदा संविधानको …धारा अनुसार फेरि प्रधानमन्त्रीमा केपी ओली आउँछन्’, उनले भने, ‘ओली सत्तामा आए भने चुनाव के हुन्छ? विचार गर्नुस्। म गल्ती गर्दिनँ भनेर सहमतिको बिन्दु पैल्याउन तयार छु। तर हामीले हाम्रो सत्ता टिकाउनु आजको आवश्यकता हो।’

उनले अहिलेकै सरकार टिकाएर स्वच्छ र धाँधलीरहित, निष्पक्ष निर्वाचन गर्नुपर्ने पनि बताए। ‘हामीले यो सरकार टिकाउनुपर्छ। सरकार टिकाएर स्वच्छ, धाँधलीरहित तथा निष्पक्ष निर्वाचनका लागि जुट्नुपर्छ। कांग्रेसको आवश्यकता पनि यही हो’, उनले भने, ‘मलाई सघाएपछि तपाईंलाई पनि फाइदा नै हुन्छ। म गएपछि ओली आए भने के होला, यसतर्फ ख्याल गर्नुस्।’

यति भनिसकेपछि कोइराला परिवारले आफू सिनियर हुँदा हुँदै पनि अस्वीकार गरेको गुनासो गरिरहेका प्रकाशमान देउवालाई सघाउन तयार भए। उनले सघाएसँगै देउवाले आफ्नो २२५८ र सिंहको ३७१ मतसहित दोस्रो चरणमा जित निकाल्ने कुरामा ढुक्क भएका थिए।