नेपाली कांग्रेसकाे सभापति चयनका लागि निर्वाचन दाेस्राे चरणमा गएकाे छ । पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्याउन नसकेपछि सभापतिकाे निर्वाचन दाेस्राे चरणमा गएकाे हाे ।
कांग्रेस विधानमा सभापति निर्वाचित हुन खसेकाे मतकाे ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । पहिलाे चरणमा शेरबहादुर देउवाले अग्रता लिए पनि उनकाे मत ५१ प्रतिशत नपुग्दा अब निकटतम प्रतिद्वन्द्वी शेखर काेइरालासँग दाेस्राे चरणमा प्रतिस्पर्धा हुनेछ ।
अन्तिम मतपरिणाम अनुसार शेरबहादुर देउवाले २२५८ मत पाएका छन् । शेखर कोइरालाले १७२९ मत पाएका छन् । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २४९ मत पाए । कल्याण गुरुङको पक्षमा २० मत खस्यो ।
दाेस्राे चरणमा देउवाविरुद्ध माेर्चाबन्दी गर्ने रणनीति सभापतिका अरु सबै प्रत्यासीहरूकाे छ । उनीहरूले सुरुदेखि नै देउवाविरुद्ध एक भएर जाने नीति लिए पनि पहिलाे चरणमा सफल भएका थिएनन् ।
सभापतिका उम्मेदवार शेखर काेइरालाले दाेस्राे चरणमा देउवालाई राेक्न अरु सबै प्रत्यासीहरू एक भएर जाने गरी छलफल चलिरहेकाे साेमबार बताएका थिए ।
मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘सकभर त म पहिलाेमै जित्छु भन्ने मेराे विश्वास हाे तर यदि त्यसाे भएन भने दाेस्राे चरणमा देउवालाई राेक्न म, प्रकाशमान र निधिबीबीच माेर्चाबन्दी गर्न हाम्राे छलफल सुरु भइसकेकाे छ ।’
लामाे समयदेखि शेरबहादुर देउवालाई साथ दिएका विमलेन्द्र निधिले पनि यसपटक उनलाई साथ दिएनन् । दाेस्राे चरणमा अब देउवाकाे विकल्पका लागि माेर्चाबन्दी गर्ने उनकाे पनि तयारी छ । तर साेमबारकाे मतदानपछि भने उनले पहिलाे चरणमै परिणाम आएपछि मात्रै दाेस्राे चरणकाे माेर्चाबन्दीबारे थप छलफल हुने बताएका थिए ।
सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि सुरु देखि नै शेरबहादुर देउवाकाे विकल्प खाेज्न आफ्नाे उम्मेदवारी रहेकाे बताउने गरेका थिए । तर संस्थापनइतर समूहमा आफ्नाे पक्षमा सहमति नजुटेपछि उनले अब दाेस्राे चरणमा कस्ताे रणनीति लिन्छन् चासाे बढेकाे छ ।