मतदातालाई नमस्ते गर्दै मत मागेर बाहिरिए देउवा, कस्तो छ अबस्था ?

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

नयाँ नेतृत्व चयनका लागि नेपाली कांग्रेसको जारी मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवाले करिब एक घन्टा मतदान केन्द्रस्थलमा बसेर बाहिरिएका छन् ।

सुरुमा मतदान गरेर फर्किएका देउवा त्यसको केही समयपछि मतदान केन्द्र प्रवेश गरेका थिए । सभापतिका उम्मेदवार समेत रहेका देउवा राष्ट्रिय सभा गृहतर्फको मतदान केन्द्र नजिकै बसेका थिए । मत खसाल्न जाने बाटो छेवैमा बसेका उनले मतदाताहरुलाई नमस्कार गर्दै थिए ।

कांग्रेसको नयाँ नेतृत्व चयन गर्नका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृह गरेर दुई स्थानमा मतदान केन्द्र बनाइएको छ । निर्धारित समयभन्दा करिब तीन घण्टा ढिलो गरेर ११ बजे मतदान सुरु भएको थियो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।

शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।