मतदानस्थलमा अड्डा जमाएर देउवाले भोट माग्न थापेपछि अरू पनि थुप्रिए, कति झर्यो मत ?

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले मतदान प्रक्रिया जारी छ। मतदानअन्तर्गत अहिलेसम्म तीन ओटै बुथमा गरी १ हजार सात सय ५० मत खसेको निर्वाचन समितिले जनाएको छ।

विभिन्न कल्स्टरहरूमा उम्मेदवारहरूलाई भोट हाल्नुपर्ने हुँदा मतदातालाई बढी समय लागेको देखिएको छ। एक जना मतदाताले बढीमा आधा घण्टासम्म समय लगाएका देखिन्छ। मतदाता ४ हजार ७ सयभन्दा बढी छन्। यो हिसाबले मतदान सकिँदा मध्यराति १२ बज्न सक्ने अनुमान गरिएको छ।

यता निर्वाचन समितिले भने साँझ पाँच बजेसम्म मत हाल्ने समय निर्धारण गरे पनि राति नौ बजेसम्मलाई समय बढाएको छ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ८ बजेदेखि निर्धारित मतदान गर्ने समय मतपत्र छपाइका कारण झण्डै चार घण्टापछि शुरु भएकाले मतदानको समय थप गरिएको हो।

निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मत संख्यालाई मध्यनजर गरी आज राति नौ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए। महाधिवेशनमा चार हजार ७४३ मतदाता छन्।

सभापतिका उम्मेदवार शेरबहादुर देउवा मतदानस्थलको गेटमै बसेर मत मागिरहेका छन्। मतदानस्थल नजिकै देउवा बस्दा मतदाताले असहज महसुस गरेको देखिन्छ।

देउवा मतदानस्थलमै आएर बसेपछि सभापतिका अन्य प्रत्यासी र अन्य उम्मेदवार पनि मतदान स्थलभित्रै आएर मत माग्न थालेका छन्।