भूतपूर्व ब्रिटिश गोर्खाका समस्या समाधानका लागि समाजवादी कांग्रेस जुर्मुरायो, के-के गर्यो माग ?

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

भूतपूर्व ब्रिटिश गोर्खाका समस्या समाधानका लागि बेलायतसँग वार्ता गर्न नेपाल समाजवादी कांग्रेस पार्टीले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै उक्त पार्टीले अबिलम्ब ‘वार्ता टोली’ गठन गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।

पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बेलायत सरकारसँग वार्ताका लागि छिटोभन्दा छिटो वार्ता कमिटी गर्न माग गरेको हो । लामो समयदेखि बेलायती सैनिक सरहको सुविधा पाउनुपर्ने माग गर्दै आएका संयुक्त संघर्ष समितिले उठाउँदै आएमा माग पूरा गराउन बेलायती सरकार तयार भएपनि नेपाल सरकारले वार्ता समिति नबनाएकोले तत्काल सरकारको तर्फबाट वार्ता समिति बनाउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष गोविन्द निरौलाले ब्रिटिश गोर्खाका माग छिट्टो भन्दा छिट्टो पूरा हुनुपर्ने बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘नेपाली गोरखाजहरुले उठाएका समानताका मुद्दा बेलायत सरकारकाबाट सम्बोधन हुने कुरामा विश्वस्त छौं ।’
बेलायतमा अहिले पनि बटालियन बाँकी रहेको भन्दै अध्यक्ष निरौलाले उक्त देशको अस्तित्व संरक्षणका लागि उनीहरुले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले तत्काल वार्ता समिति बनाएर भुपु गोरखा सैनिकका परिवारले उठाउँदै आएका जायज माग पूरा गराउन नेपाल सरकारले पहल गर्नुपर्नमा जोड दिए । समाजवादी कांग्रेसले बेलायतमा आमरण अनसन चलिरहेका बेला पत्र लेख्दै बेलायत सरकारको ध्यानाकर्षण गराएको थियो ।

पत्रकारसम्मेलनमा पार्टीका उपाध्यक्ष पुष्पा राणा घलेले ब्रिटिस सेनामा भर्ना भएका नेपालीका लागि समान सुविधाका लागि नेपाल सरकारले पहल गर्नुपर्ने बताइन् ।

ब्रिटिस गोर्खा सत्याग्रह सयुक्त संघर्ष समितिको सचिव समेत रहेकी घलेले भनिन्, ‘नेपाली गोरखाजहरुले बेलायत सरकारसँग राखेका माग पूरा गराउन द्विपक्षिय वार्ता टोली गठन गर्ने सहमति भएपनि नेपाल सरकारबाट टोली गठन गर्न ढिलाइ भएको छ । छिट्टोभन्दा छिट्टो नेपाल सरकारले वार्ता टोली गठन गर्नुपर्ने देखिन्छ ।’

यस्तै उनले नेपाल सरकारले गोरखाजहरुको माग सम्बोधनका लागि अभिभावकत्व ग्रहण गर्न नसकेको बताइन् । उनले सरकारले वार्ता टोली गठनका लागि ढिलाइ गरेमा यसको असर डरलाग्दो हुने समेत बताइन् । उनले सरकारी वेवास्थाका कारण वेलायतले बोलाउँदा पनि वार्ता समिति बनाउन नसक्नुले नेपालको लाचारीपन स्पष्ट भएको बताइन् । ‘वेलायती सरकारले आमरण अनसन तोडेको बेला जसरी पनि भुपु गोरखा सैनिकको माग पूरा गर्ने प्रतिवद्धता जनाएको छ’, ‘तर, नेपाल सरकारले वार्ताको समय आइसक्दा पनि वार्ता समिति बनाउन सकेन । यो नेपालकै लागि लज्जाको विषय बनिसक्यो ।’

आमरण अनसन बस्ने राणा समाजवादी कांग्रेसको उपाध्यक्ष भएका कारण पनि पार्टीले गोरखा सैनिकको विषयमा पटकपटक आवाज उठाउँदै आएको सचिव मानबहादुर गुरुङले बताए ।

भूतपूर्व गोर्खा सैनिकहरुले आफ्नो सेवासुविधा, पेन्सन लगायतका माग राख्दै गत अगस्टमा आमरण अनसन बसेका थिए । त्यसले दुबै पक्षको ध्यान तानेको थियो । अन्तत बेलायती सरकार गोर्ख सैनिकको माग सुन्न बाध्य भएको थियो ।
नेपाल सरकार र बेलायती सरकार दुबैको सहमतीमा गोर्खा सैनिकका मागमा छलफल गर्ने भन्दै आमरण अन्सन तोडिएको थियो । ति माग पुरा गराउन द्विपक्षिय वार्ता टोली गठन गर्ने सहमतिसमेत भएको थियो । त्यसमा गोर्खा सैनिकका उच्च अधिकारी (भेटरान) हरुसमेत संलग्न गराउने सहमति भएको हो ।

वार्ता कमिटी गठन गर्ने सहमति पत्रमा बेलायती रक्षा मन्त्रालयका तर्फबाट बेलायती सांसद लेओ डोसेर्टी र नेपाल सरकारका तर्फबाट बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले हस्ताक्षर गरेका थिए ।

बेलायतको रक्षा मन्त्रालयबाट लेखिएको पत्रमा बेलायत सरकार र नेपाल सरकारका तर्फबाट गरिएको सहमतिमा भूतपूर्व बेलायती गोर्खा सैनिक भेटेरानहरुसहितको वार्ता टोली गठन गरेर दिर्घकालिनरुपमा यो समस्या हल गर्ने उल्लेख छ । तर नेपाल सरकारले अहिलेसम्म वार्ता टोली गठन गरेको छैन ।