मतदाता लाईनमा बसे खुरुखुरु, मतदान चाँही किन भएन शुरु ?

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहेको थियो तर मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान कार्य प्रभावित भएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार मतपत्र छपाइमा ढिलाइ हुँदा ८ बजे मतदान कार्य सुरु हुन सकेन। उम्मेदवारहरुको संख्या अधिक रहेको र क्लस्टर छुट्याएर मतपत्र तयार गर्नुपर्ने भएकाले मतपत्र छपाइमा ढिलाइ भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। उनले मतपत्र आइपुग्नेबित्तिकै मतदान कार्य सुरु हुने बताए।

बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका भएकाले कांग्रेस महाधिवेशन प्रतिनिधिहरु मत हाल्न बिहानै लाममा बसेका छन्। उनीहरुले समयमै मतपत्र वितरण नगरिएको भन्दै आक्रोश पोखिरहेका छन्।

कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गरेका थिए। आइतबार ५८ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। अझै ४९० जना उम्मेदवारहरु चुनावी होडमा छन्।

महाधिवेशनमा कांग्रेस सभापतिका लागि पाँचजना, दुई उपसभापतिका लागि ७, दुई महामन्त्रीका लागि ६ र ८ सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ। पदाधिकारीमा उम्मेदवारी दिएका दुईजना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५८ जनाले आइतबार मनोनयन फिर्ता लिएका छन्।

नयाँ नेतृत्व चयनका लागि सोमबार हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा केन्द्र कायम गरिएको हो ।

मतदानमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।