शेखर प्यानलमा सल्कियो भुसको आगो, आँसु पुछ्दै फर्किएका पौडेल संग टुट्यो विश्वासको धागो

  • प्रकाशित मिति : २०७८ मंसिर २७, सोमबार
  • chhanbin.com

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानमा सहभागी नहुने भएका छन् । लामो समय संस्थापनइतर खेमाको नेतृत्व सम्हाल्दै आएका पौडेलले मतदानमा सहभागी नहुने निर्णय लिएकाे उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने पक्षमा थिए । उनी पनि सभापतिका आकांक्षी थिए । तर सहमति जुट्न नसकेपछि आँसु पुछ्दै राजनीतिक प्रतिस्पर्धाबाट अलग हुने घाेषणा गरेका पाैडेलले मतदानमा पनि सहभागी नहुने निर्णय लिएका हुन् ।

पाैडेलकाे याे निर्णयले कांग्रेसकाे चुनावी नतिजामा फरक पार्ने आँकलन भइरहेकाे छ । कांग्रेस सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् । आफ्नै समूहसँग पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए । देउवाले आफूलाई सहयोग गर्न पाैडेललाई आग्रह गरेका थिए । स्वकीय सचिव अधिकारीका अनुसार पौडेलले प्रतिनिधिहरूलाई विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

यसैबीच कांग्रेस नेता शशांक कोइरालाले १४औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा आफू शेखर कोइरालाको प्यानलमै रहेको प्रष्ट पारेका छन् । आफ्ना स्वकीय सचिव भरत तिवारीमार्फत कोइरालाले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने प्रष्ट पारेका छन् ।

पार्टीको संस्थापन समूहले आफ्नो प्यानलको प्रचार सामग्रीमा शशांक कोइरालाको पनि नाम राखेको छ । तर शशांकको सचिवालयले भने त्यसलाई गलत प्रचार भनेको छ । ‘दुवै समूहले नाम राखेका छन् । तर उहाँ (शशांक कोइराला)को समर्थन शेखर काेइरालाको प्यानललाई नै हो’, स्वकीय सचिव तिवारीले भने ।

शशांकले शेखरलाई समर्थन रहेको बताए पनि उनी शेखरकाे मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् । यो बीचमा शेरबहादुर देउवासँग शशांकको भेट भएको देउवा निकट नेताहरूले दाबी गरिरहेका छन् ।संस्थापनइतर समूहबाट सभापतिका आकांक्षी रहेका काेइरालाले सहमति नजुटेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । १३औँ महाधिवेशनमा उनी महामन्त्री निर्वाचित भएका थिए ।

उनले केही समयअघि संस्थापनइतरबाट सभापतिकाे साझा उम्मेदवार नभए कांग्रेसकाे नेतृत्व फेरि पनि शेरबहादुर देउवालाई बुझाइदिए हुने बताएका थिए । संस्थापनइतर समूहबाट शेखरसहित प्रकाशमान सिंह सभापतिका उम्मेदवार छन्।